राजनीति


पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम लिएनन्, एकताका लागि राखे यस्ता सर्त

पार्टी एकताबारे माधव नेपालको प्रतिवेदन : माओवादीको नाम लिएनन्, एकताका लागि राखे यस्ता सर्त

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १४:२२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आजको मुलुकको राजनीतिक आवश्यकता भएको बताएका छन्।

बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै उनले वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको दिशामा पार्टी निरन्तर अघि बढिरहेको बताएका हुन्।

अध्यक्ष नेपालले भनेका छन्, ‘हामीले पार्टी पुनर्गठनको पहिलो बैठकबाटै वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्न र मोर्चा बनाएर काम गर्दै पार्टी एकताका आधारहरू निर्माण गर्नु आजको महत्वपूर्ण राजनीतिक कार्यभार हो भन्ने प्रस्ताव पारित गरेका थियौं।’

उनका अनुसार, यही घोषित नीतिअनुसार नै नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी मोर्चा’ निर्माणमा अग्रणी भूमिका खेलेको छ। उनले २०८१ चैत १५ गते भृकुटीमण्डपमा आयोजित प्रतिगमन विरोधी जनप्रदर्शनलाई त्यस मोर्चाको प्रभावकारी उपलब्धि भएको उदाहरणका रूपमा प्रस्तुत गरे।

‘समाजवादी मोर्चाका गतिविधिहरू पर्याप्त नहुन सक्छन्, तर यसले महत्वपूर्ण भूमिका खेलेको छ,’ नेपालले भनेका छन्, ‘त्यसको महत्व विर्सनु हुँदैन।’

वाम एकताको सम्बन्धमा नेपालले स्पष्ट भनेका छन्, ‘समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका क्रान्तिकारी कम्युनिष्ट घटकबीच एकता आजको आवश्यकता हो। समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण आवश्यक छ, जुन केवल वाम एकताबाट सम्भव छ।’

तर, उनले जोड दिए, ‘स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना पार्टी एकता हुन सक्दैन। नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, कार्यदिशा, र संगठनात्मक सिद्धान्तमा समानता आवश्यक छ। यी विषयमा एकरूपता भए मात्र एकता सम्भव हुन्छ।’


‘यी सैद्धान्तिक र संगठनात्मक अवधारणामा सहमति राख्ने कम्युनिष्ट घटकसँग एकताको सम्भावना देखिएमा हामी नकारात्मक हुँदैनौं। बरु पहल गर्न हामी सधैं तयार रहनेछौं,’ नेपालले थपे। 

उनले एकताका लागि छलफल चलिरहेको माओवादी केन्द्रको नाम भने प्रतिवेदनमा उल्लेख गरेका छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad