राजनीति


पार्टीको नियमित महाधिवेशन नै सम्भव छ, नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्छ: प्रदीप पौडेल

पार्टीको नियमित महाधिवेशन नै सम्भव छ, नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्छ: प्रदीप पौडेल

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १९:२९, काठमाडौँ

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्न सक्ने बताएका छ्न्।  आज सामाजिक सन्जालमार्फत एक भिडि‌ओ वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए।

'अहिले उठेका काङ्ग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरूको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,' केन्द्रीय सदस्य समेत रहेका उनले भनेका छन्।

विगतका उदाहरण हेर्ने हो भने पुस महिनाभित्र यो सम्भव पनि रहेको उनले बताए। अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंकासहितको जिज्ञासा आफूले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए। 

महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ संकेत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए।

वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरूको चासोसमेत यसले सम्बोधन गर्ने बताए। उनले भने, 'समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad