नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमबार नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र अस्तित्व रक्षाका लागि पनि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्।
उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरुले आफूहरुको अस्तित्वमाथि नै धावा बोलिरहेको आरोप लगाए। अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरुले रोक्न नसकेकोमा माफी माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए।
गुरुङले जेनजी आन्दोलनका नाममा नेताहरुमाथि भएको प्रहारको हिसाब–किताब हुने बताएका छन्। उनले सरकारी संरचना जलाउने, उद्योगपति, विभिन्न पार्टीका कार्यलय र नेताहरुको घर जलाउने र आक्रमण गर्नेहरुलाई छिटोभन्दा छिटो कारबाही गर्न सरकारालई आग्रह गरे।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा केही सरकारमा नरहेका दल, राजावादीहरु र केही विदेशीको घुसपैठ रहेको उनको आरोप छ।
‘२४ गतेको आन्दोलनमा यो सरकारमा नरहेको, सरकार बाहिर रहेका केही पार्टी, केही राजावादी, केही विदेशीले हाम्रा नेताहरूमाथि प्रहार गरेको छ। यसको हिसाबकिताब नेपाल तरुणदलले गर्नुपर्छ,’ उनले भने।
उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन भएर दोषीमाथि कारबाही हुनुपर्ने बताए।
तरुण अध्यक्ष गुरुङले अब मुलुकको व्यवस्था जोगाउने र आफ्नो अस्तित्व जोगाउने हो भने त्यस्ताविरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए।
Shares

प्रतिक्रिया