राजनीति


संगठनको अस्तित्व जोगाउन तरुण दल भिड्न तयार छः विद्वान गुरुङ

संगठनको अस्तित्व जोगाउन तरुण दल भिड्न तयार छः विद्वान गुरुङ

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १८:८, काठमाडौँ

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।

सोमबार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो। अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताए। 

उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

उनले भने, ‘आज एउटा कुनै दुर्गा प्रसाईंले छठ पछि आन्दोलनको घोषणा गरेको छ। एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ। केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रसका कार्यकर्ताहरूलाई झोलेको रुपमा हाम्रा परिवारहरुलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ। यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ। यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्ध सडकमा भिड्ने हो। यो भन्दा अब अर्को विकल्प नै छैन।’

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरुले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए।

उनले थपे, ‘२३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौं। २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौं। जसकारण हामीले यति ठूलो क्षति व्यहोर्न गयौं। अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अब नेपाल तरुण दल सजग रहनेछ। र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad