राजनीति


नवलपरासीमा जापानिज इन्सेफलाइटिसबाट १४ जना संक्रमित, २ महिनामा ४ जनाको मृत्यु

नवलपरासीमा जापानिज इन्सेफलाइटिसबाट १४ जना संक्रमित, २ महिनामा ४ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ११:३४, काठमाडौँ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ। गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। 

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। 

मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए। 

‘सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ,’ उनले भने, ‘नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ।’ 

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले सङ्क्रमितमध्ये नौ जना पूर्णरुपमा निको भएका, एक जना उपचारमा रहेका तथा चार जनाको मृत्यु भएको जानकारी दिए। 

‘जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिलाई सिधै मष्तिष्कमा असर गर्ने भएकाले बिरामीको अवस्था गम्भीर बन्न थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ,’ उनले भने। सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका– ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक÷एकजना रहेका उनले बताए। 

‘जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ,’ उनले भने, ‘जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरुको अवस्था सामान्य छ।’

सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै छन्। तिवारीकाअनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। 

यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको तिवारीको भनाइ छ। 

जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने उनले बताए। 

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुङ्गर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने जानकारी दिए। 

यसैबीच, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले जिल्लामा सबैभन्दा बढी कावासोतीमा यो रोग देखिएको भन्दै यसको न्यूनीकरणका लागि काम गरिरहेको बताए। 

लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुङ्गुर–बङ्गुरको खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने भुर्तेलको भनाइ छ। 

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad