राजनीति


निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ : प्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ : प्रधानमन्त्री

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ६:४७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएकी छन्। 

तिहारको शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीका क्रममा राजनीतिक संवाद र सुरक्षा व्यवस्थाका काम पनि सन्तोषजनक ढंगले अघि बढेको दाबी गरेकी छन्। 

‘फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ’, सन्देशमा उनले भनेकी छन्, ‘६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ हामी निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढेको छ।’

प्रधानमन्त्रीको पूरा शुभकामना सन्देश-

प्रिय स्वदेश र विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरू,

अहिले हामी यस वर्षका हाम्रा महान् चाडपर्वहरू मनाउने क्रममा छौँ। बडादसैँ बिदा गरिएको छ। यमपञ्चक सुरु भएको छ । म्ह पूजा, नेपाल संवतको नयाँ वर्ष ११४६, छठ लगायतका पर्व पनि मनाउन गइरहेका छौँ । यी सबै चापर्वको अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

दीपावलीको उज्यालोसँगै आउने यी पर्व हाम्रो जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक हुन्। अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा हामी यी पर्व मनाउँछौं।

यस वर्ष हामी परिवर्तनको असीम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेका छौं। भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ।

फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।

६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ हामी निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढेको छ ।

कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ आउनुहोस्, कुनै पनि भ्रम र लहडमा नलागी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ। शान्ति, समृद्धि र सुशासनको आकाङ्का पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौँ।

धन्यवाद।

सुशीला कार्की
प्रधानमन्त्री, नेपाल सरकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad