राजनीति


सांसद ‘उठाउन’ सर्वेन्द्र खनालको संलग्नताः आईजीमा टिकाएको ऋण कि आयोगमा जान गुन?

सांसद ‘उठाउन’ सर्वेन्द्र खनालको संलग्नताः आईजीमा टिकाएको ऋण कि आयोगमा जान गुन?

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १६:४०,

नागरिक एक महिनादेखि लकडाउनमा छन्। लामो लकडाउनले घर फर्किन नपाएका सर्वसाधारणलाई सहयोग गर्ने बहानामा उपत्यकाबाट दुई सांसद र एक पूर्वआईजीपीको टोली बाटो लाग्यो। तर, उनीहरुको चाहना बेग्लै थियो।

टोलीमा थिए सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनाल।

महोत्तरी पुग्दासम्म उनीहरुले कति नागरिकलाई उद्धार गरे, त्यसको हिसाब उनीहरुसँग छैन। तर, उनीहरु फर्किंदा भने एक जना सांसदलाई लिएर आए। जसले गएको केही दिन राष्ट्रिय राजनीतिमा ठूलो खैलाबैला निम्त्यायो।

उनीहरुकै भनाइ पत्याउने हो भने पूर्वराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवले काठमाडौँ आउने चाहना व्यक्त गरेपछि उनीहरु लिन पुगेका थिए।

तर, उनीहरुको दाबीलाई कसैले पत्याएनन्।

पार्टी फुटाउनसत्ताधारी सांसद र पूर्वआईजी मिलेर सांसदकै ‘अपहरण’ गरेको आरोप समेत लाग्यो।

यो प्रकरणबाट राजनीतिक, नैतिक र आपराधिक सबै किसिमका अनेकौँ प्रश्न खडा भएका छन्। जसमध्ये एउटा प्रश्नको चर्चा हामी गर्दैछौँ।

एक पूर्वआईजीलाई यस्तो घिनलाग्दो खेलमा सहभागी हुने बाध्यता के थियो?

प्रहरीकै पूर्वअधिकृतहरु त यसबारे टिप्पणी गर्न समेत चाहँदैनन्।

‘भाइ, हिजोदेखि फोन आएको आयै छ,’ एक पूर्वएआईजीले भने, ‘यिनले आफू मात्रै होइन हामीलाई पनि बदनाम बनाए। एउटा प्रहरीले जुनसुकै बाध्यता भए पनि यतिसाह्रो गिरेर काम गर्दैन।’

प्रहरी अधिकृत हुँदा सधैं चर्चामा आएका पात्र हुन् सर्वेन्द्र खनाल।

‘सत्ताले के चाहन्छ भनेर राम्ररी बुझेका र त्यहीअनुसार भूमिका निर्वाह गरेका पुलिस हुन्’, उनका सहब्याची एक पूर्वअधिकृत भन्छन्, ‘भलै उनका धेरैजसो अप्रेसन असफल र विवादित बने।’

पदका लागि जे पनि गर्न तयार भनिएका खनाल जब प्रहरीको सर्वोच्च पदमा पुगे, तब झन् धेरै विवादित बने।

उनकै कार्यकालमा निर्मला पन्त बलात्कार–हत्यादेखि कुमार पौडेल हत्यासम्मले प्रहरीको छवि धमिलो भयो। यी दुवै घटनामा नेतृत्वका हिसाबले मात्रै होइन, निर्देशनका हिसाबले पनि खनालको प्रत्यक्ष संलग्नता छ।

प्रहरी महानिरीक्षक भएपछि उनको चर्चा सेलाउँदै गयो।

किन त?

उनकै ब्याची पूर्वप्रहरी अधिकृत भन्छन्, ‘खनालप्रतिको भ्रम हट्दै थियो। मासले बुझ्दै थियो खनालको खलनायकीपन।’

अनुसन्धानमा असफलता मात्र होइन, आर्थिक अनियमितताबाट समेत उनी चोखो रहन सकेनन्। आईजी हुँदा खनालले गरेका अनियमितताका मुद्दा अहिले पनि अख्तियारमा टुंगिइसकेको छैन।

एकातिर ती विचाराधीन मुद्दा, अर्कोतर्फ उनको नयाँ खलनायकी उदय– अवकाशपछि पनि खनाललाई बदनामीले पिछा छोडेको छैन।

‘प्रहरीको त्यो दर्जामा पुगेर अवकाश पाएको व्यक्तिबाट सोच्न सकिने घटना नै होइन यो। यो घटनाले सिंगो प्रहरीलाई बदनाम गरायो,’ ती पूर्वएआईजी भन्छन्, ‘नेपाल प्रहरीले यो खनालको व्यक्तिगत संलग्नता हो भनेर संगठनलाई नजोड्दिन आग्रह गर्दै विज्ञप्ति निकाल्नु पर्ने हो। उनको कर्तुतको क्षति संगठनले बेहोर्नु हुन्न।’

आखिर किन खनाल सांसद ‘उठाउन’ पुगे?
‘उनको खास रुप नै यही हो। आफ्नो स्वार्थका लागि जे गर्न पनि पछि पर्दैनन्,’ उनका ब्याची अधिकृतले भने, ‘हामीले त उनलाई चिनैकै हो, जनताले बल्ल चिन्दैछन्।’

पहिले सर्वेन्द्र खनाल नेपाली कांग्रेसनिकट थिए। कुमार घैंटेको इन्काउन्टरपछि कांग्रेस नेता जगदीशनरसिंह केसीसँग उनको सम्बन्ध बिग्रियो। केसी र खनाल क्लासमेट हुन्।

खनाललाई डीआईजीमा बढुवा गर्दा पनि पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा दुवैको लिस्टमा पहिलो नम्बरमा थिए। कारण उनले प्रकाश दाहालमार्फत प्रचण्डसँग पनि सम्बन्ध राम्रो बनाएका थिए।

‘हरेक पार्टीमा एउटा–एउटा च्यानल बनाएका खनाल जो सत्तामा पुग्छ, त्यहीबाट फाइदा लिन्थे,’ पूर्वएआइजीले भने।

अहिले नाम जोडिएका सांसद किसन श्रेष्ठ र सर्वेन्द्र खनाल दुवै तनहुँकै हुन्। उनीहरुको चिनजान र सम्बन्ध पुरानै हो।

‘तर खनाल चिनजानकै भरमा सांसदलाई जबरजस्ति लिन त्यहाँ पुगेको विश्वास गर्न सकिँदैन’, पूर्वएआईजी भन्छन्, ‘आईजीमा टिक्न उनलाई धेरै गाह्रो भएको थियो, त्यतिबेलै केही कमिटमेन्ट गरेका थिए होला!’

उमेर, जोस र जाँगर छँदै सेवा निवृत्त भएकाले अझै देशका लागि केही गर्ने सोचिरहेको खनालले बताएका छन्।

तर कतिपयले भने खनालले अख्तियार वा निर्वाचन आयोगको आयुक्तमा नियुक्ति खोजिरहेको बताएका छन्। त्यसैका लागि गुण लगाउन उनी यो घटनामा संलग्न भएको अनुमान गर्न सकिन्छ।

यसलाई खनालले बालुवाटारसँग नजिकिने गतिलो अवसरका रुपमा देखेका थिए। तर, जुन उदेश्यका साथ यो प्रकरण सुरु गरिएको थियो, त्यो सफल नहुँदा खनालको मेहनत मात्रै खेर गएको छैन, प्रतिष्ठामा समेत क्षति पुगेको छ।

यता खनालले भने बिहीबारबाटै बुढानीलकण्ठसँग पनि सम्पर्क बढाएका छन्। खनालले कांग्रेस सभापति देउवासँग भेट्न खोजिरहेको एक कांग्रेस नेताले बताए।

संसद् सुचारु भएपछि यो मुद्दा प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीले चर्को रुपमा उठाउन सक्छन्। त्यो सम्भावनालाई टारेर आफ्नो बचाउका लागि पनि खनाललाई यी दलसँगको निकटता आवश्यक छ।

खनाललाई संवैधानिक आयोगमै नियुक्त गर्न खोजिएको हो भने पनि त्यसमा नेकपाको पूरै मत आवश्यक हुन्छ।

तर, नेकपामा खनाल संलग्न पछिल्लो गतिविधिको चर्को विरोध भएको छ। सोही विरोधका कारण प्रधानमन्त्रीलाई समेत पछि हट्न बाध्य पारेको नेकपाको ठूलो समूहले पूर्वआईजी खनालमाथि छानविन र कारबाहीको माग गर्न सक्छ।

नेकपाका केही नेताले अहिले नै यो घटनाको विरोध गरेर त्यसको संकेत गरेका छन्। अख्तियार, कुमार पौडेल हत्या र पछिल्लो घटनाले खनाललाई थप संकट परेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad