नेपाली कांग्रेसले सरकारले राजदूत फिर्ता बोलाएकोमा आपत्ति जनाएको छ।
शुक्रबार जारी केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले छिन छिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश नजाने बताए।
यसले अन्तरराष्ट्रिय कुटनीतिमा असर पर्ने कांग्रेस बैठकमा कुरा उठेको उनले जानकारी दिए।
प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए।
सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कुटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाए।
उनले भने, ‘अहिले सरकारले निर्वाचन गराउने भनेर भनिरहेको छ। तर निर्वाचन गराउने कुरामा सरकार गम्भीर भएको देखिँदैन। अहिले फेरि राजदूतहरू फिर्ता गरिएको छ। छिनछिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तरराष्ट्रिय कुटनीतिमा असर पर्ने कुरा पनि बैठकमा उठेको छ। अहिले सरकारले सम्पूर्ण उर्जा र शक्ति निर्वाचन गराउनेर्फ लगाउनुपर्थ्यो। तर त्यसो गरेको देखिँदैन।’
शुक्रबारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएको शनिबार फेरि बस्नेगरी बैठक स्थगित गरिएको महतले जानकारी दिए।
उनकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरूले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन्। उनले शनिबार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताए। बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
प्रवक्ता महतले भने, ‘हाम्रो अस्ति जस्तै बैठक जारी छ। प्रश्तुत १० वटा जेण्डामा साथीहरूले कुरा राखिरहनुभएको छ। भोलि पनि बैठक बस्छौं। छठ पर्वपछि बाँकी बैठकहरूलाई निरन्तरता दिन्छौं। त्यसपछि मात्रै हामी छलफल भइहेका विषयको निष्कर्षमा पुग्छौं।’
Shares

प्रतिक्रिया