राजनीति


सेनाको रिपोर्ट: नेपाल प्रहरी र सशस्त्रका ९७८ नाल हतियार लुटिए

सेनाको रिपोर्ट: नेपाल प्रहरी र सशस्त्रका ९७८ नाल हतियार लुटिए

जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर प्रदर्शन गर्दै। तस्बिर- सामाजिक सञ्जाल


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार २०:१६, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९७८ थान हतियार लुटिएको नेपाली सेनाले जनाएको छ। घटनाको एक महिनापछि शुक्रबार पत्रकार सम्मेलन गरेको सेनाले लुटिएका मध्ये आधाबढी हतियार फिर्ता गरिएको दाबी पनि गरेको छ। 

सेनाको युद्धकार्य विभागले भनेको छ, ‘अन्य सुरक्षा निकायका ९७८ नाल हतियार लुटिएकोमा हालसम्म ५८६ नाल हतियार फेला परेका तथा फिर्ता भएका छन्।’

फिर्ता गरिएका हतियार सम्बन्धित सुरक्षा निकायलाई नै फिर्ता गरिरहेको पनि युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले बताए। 

उपरथी थापाका अनुसार उपत्यकाभित्र नेपाली सेनाले प्राप्त गरेका मध्ये २७४ नाल नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। १२ नाल सशस्त्र प्रहरीलाई बुझाइएको पनि सेनाले जानकारी दिएको छ। यस्तै उपत्यका बाहिरबाट पनि नेपाली सेनाले हतियार फिर्ता लिएको छ।

उपत्यका बाहिर ७९ नाल हतियार प्रहरीलाई बुझाइसकेको छ। थप ६५ वटा हतियार पनि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सेनाले जानकारी दिएको छ। 

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटेका हतियार आन्दोलनकारीले नेपाली सेनालाई बुझाएका थिए। केही हतियार भने सेनाले बरामद गरेको थियो। 

यस्तै नेपाल प्रहरीले पनि विभिन्न स्थानबाट हतियार बरामद गरिरहेको छ। अहिलेको प्रमुख सुरक्षा चुनौती यीनै लुटिएका हतियार रहेकाने भन्दै प्रहरीले खोजतलासलाई तिब्र बनाउने भएको छ।

असोज मसान्तसम्म फिर्ता गरे कारबाही नगर्ने भनेको प्रहरीले कात्तिक एक गतेबाट खोजतलासलाई तिब्रता दिने भएको छ। अब प्रहरीको प्रमुख अप्रेसन नै फरार कैदीबन्दी, हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार खोज्न चलाउने भएको छ। 

नेपाली सेनाले पनि अन्य सुरक्षाकर्मीका हतियार फिर्ता गराउनका लागि सहयोग गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad