विगत तीन दिनदेखि ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीको १० औँ बैठक आज पनि बस्दैछ। असाेज २९ गतेदेखि जारी बैठक आजै सक्ने तयारी छ। शुक्रबार बिहान ८ बजेदेखि बैठक सुरु हुँदैछ।
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि आजै अध्यक्ष ओलीसहितका पदाधिकारीले आफ्ना धारणा राखेर बैठक सक्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीले जानकारी दिए।
‘हिजो र अस्तीको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि आजै अध्यक्ष ओलीले जवाफ दिएपछि बैठक सकिने छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘बैठक आजै सकिन्छ, लम्बिँदैन।’
बैठकको दोस्रो दिन हिजो एकसय ४७ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखेका छन्। अझै एकसय भन्दा धेरै सदस्यले बोल्न बाँकी छ। पहिलो दिन ५० जना केन्द्रीय सदस्यले बोलेका थिए।
बैठकमा केन्द्रीय सदस्यलाई तीन मिनेट मात्रै बोल्ने समय दिइएको छ।
आजको बैठकमा सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष पदबाट केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने उल्लेख गर्दै १२ पृष्ठ लामो लिखित प्रस्ताव प्रस्तुत गर्दैछन्। हिजाे र अस्ती बाेलेका कतिपय केन्द्रीय सदस्यले पनि ओलीले नेतृत्व छाड्नुपर्नेमा जाेड दिएका थिए।
यही असोज २४ र २६ गते बसेको एमालेका ‘कोर अफ लिडरसिप’ भनिने सचिवालय बैठकमा भट्टराईले ओलीले राजीनामा दिएर नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
भट्टराईले ओलीले नै सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुने धारणा सार्वजनिक रुपमा राख्दै आएका छन्।
Shares

प्रतिक्रिया