प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले आज (बुधबार) राखेको दलहरूसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ।
बैठक अहिले संसद् भवनस्थित सभामुखको कार्यकक्षमा चलिरहेको छ। तर यो खबर बनाउँदासम्म रास्वपा बैठकमा सहभागी भएको छैन।
प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन्।
यसै क्रममा सभामुख घिमिरेले आफैँ रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन्।
बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएका छन्।
विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बैठकमा सहभागी भइरहँदा चौथो ठूलो दल रास्वपा भने अनुपस्थित भएको हो।
गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन्।
तर दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुन:स्थापनाका लागि कानुनी पहल गर्न चाहेको सन्दर्भमा सभामुखले उनीहरूसँग बैठक राखेका हुन्।
Shares

प्रतिक्रिया