ad ad

राजनीति


भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको ३ पाना लामो सन्देशः कोरोनालाई अवश्य जित्नेछौं (पूर्णपाठ)

भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको ३ पाना लामो सन्देशः कोरोनालाई अवश्य जित्नेछौं (पूर्णपाठ)

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ३:३,

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले व्याप्त विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्धको लडाइँ जित्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन्।

भूकम्प स्मृति दिवसका अवसरमा आज वैशाख १२ गते तीन पाना लामो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ कोरोना भाइरसविरुद्धको लडाइँ पनि जितिने विश्वास व्यक्त गरेका हुन्।

सन्देशमा उनले भनेका छन्, ‘सही नीति, सहकार्य र स्रोत व्यवस्थापन प्रबन्ध मिलाएरै हामी यस लडाइँमा विजयी हुनेछौं।’

पाँचौं भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सन्देशको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू!
आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो। भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनुपर्यो भने मुलुकले करिब ७ खर्ब रुपैयाँबराबरको आर्थिक क्षति बेहोर्नुप¥यो। म त्यस भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण र हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु।

त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए- भूकम्पबाट क्षति पुगेका लाखौंको संख्याका निजी आवास, यति धेरै सार्वजनिक संरचना र पुरातात्विक महत्वका धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्न त सकिएला? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला? यसरी पनि तर्क गरिँदै थियो, नब्बे सालको भूकम्पपछि नयाँ सडक बनेझैं के अब पनि नयाँ सिर्जना हुन सक्लान्?

म स्मरण गर्न चाहन्छु- हामी नेपालीहरू भुकम्पलगत्तै एकआपसबीच सहकार्य र सहयोगमा जुट्यौं। पहिले उद्धर, अनि राहत र त्यसपछि पुनर्निर्माणको अभियानमा जुट्यौं। ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थाल्यौं।

फर्केर हेर्दा आज, विगतका ५ वर्षको अवधिमा हामीले भूकम्पप्रतिरोधी र आकर्षक कैयौं संरचनाहरू बनाउन सफल भएका छौं। निजी आवासतर्फ मात्रै हामीले करिब ५ लाख घर पुनर्निर्माण सम्पन्न गरिसकेका छौं। १ लाख ९० हजार घर पुनर्निर्माण क्रममा छन्। हालसम्म ९ वटा एकीकृत बस्ती पुनर्निर्माण सम्पन्न भई नै सकेका छन्। थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माण क्रममा छन्। यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्तीहरू बनिरहेका छन्। ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ।

६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ। १ सय ४५ वटा पुनर्निर्माण क्रममा छन्। सम्पदा क्षेत्रका १ सय ७० मध्ये १ सय १ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। थप ५४ सम्पदा पुनर्निर्माण क्रममा छन्। ३ सय ४९ वटा सरकारी भवनको पुनर्निर्माण गरिएको छ र ४९ वटा पुनर्निर्माण क्रममा छन्।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ। करिब ९ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ।

हाम्रो ऐतिहासिक धरोहरका रूपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रूपमा नयाँ निर्माण कार्य अघि बढेको छ। धरहराको दसौं तल्ला ढलान भइसकेको छ।

सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माण क्रममा रहेका गरी हामीले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ। ३२ जिल्लाका सम्पदाको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन्। काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ। यो हाम्रा लागि चानेचुने उपलब्धि मात्र होइन।

यदि यस बीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तला अग्लो ढलान भइसक्ने निश्चित थियो। मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो। नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कुलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो। सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो।

पुनर्निर्माण तथा पुनर्स्थापनामा हाम्रो अवधारणा र हामीले अपनाएको विधि विश्वका अरू देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरका छन्। त्यो तपाईं हामी सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको हो। यस अवसरमा म पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधिहरू, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, संचारकर्मीहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं। यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा छौं। त्यसैका कारण विगत एक महिनादेखि सिंगो देश लकडाउनमा रहन बाध्य भएको छ।

लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरूमा गम्भीर असर परेको सर्वविदितै छ। मलाई विश्वास छ, कोरोना भाइरसविरुद्धको यस लडाइँमा हामी विनासकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं। सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइँमा विजयी हुनेछौं।

हामीले सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरू गर्दै आएका छौं। यसबीचमा देखापरेका जुनसुकै समस्याहरूलाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौं। सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब २ लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामीकहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन। यस निम्ति हामीले समयमै चालेका कदमहरूको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको एकता र समझदारी मुख्य कारक रहेको छ। यसरी विषम परिस्थितिका बीच अनेकन् दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।

भूकम्पपछिको राहत, उद्धर, पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइँमा एकताबद्ध हुन म फेरि सबैमा आग्रह गर्दछु।

अहिले लकडाउनका कारण सिंगो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ। यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन। यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरू पनि प्रभावित हुन पुगेका छन्। आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनर्निर्माण प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ। पुनर्निर्माण कार्यमा कुनै ढिलाई नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ ।

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यहरूलाई पनि हामी योजनाबद्ध ढंगले टुंगोमा पुर्‍याउन/सम्पन्न गर्न सफल हुनेछौं।
धन्यवाद!
केपी शर्मा ओली
प्रधानमन्त्री
१२ वैशाख २०७७

 sandesh1

sandesh2sandesh3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .