राजनीति


कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने कि नगर्ने? विश्व प्रकाशको सात बुँदे सन्देश

कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने कि नगर्ने? विश्व प्रकाशको सात बुँदे सन्देश

नेपालखबर
असोज २१, २०८२ मंगलबार १३:४९, काठमाडौँ

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग राख्दै भइरहेको हस्ताक्षर अभियानमा सक्रिय रुपमा सहभागी हुन महामन्त्री विश्वप्रकाश शर्माले अपिल गरेका छन्। एक भिडिओ सन्देश जारी गर्दै उनले सात बुँदामा महाधिवेशन प्रतिनिधिले गर्ने हस्ताक्षर अभियानबारे प्रस्ट पारेका हुन्।  
 
उनले आफूलाई धेरै जिल्लाबाट फोन र म्यासेजमार्फत कांग्रेसका महाधिवेशन प्रतिनिधिहिरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कि नगर्ने भन्दै सोध्ने गरेको बताएका छन्।  
‘कयौं जिल्लाबाट टेलीफोन र म्यासेजमार्फत नेपाली कांग्रेसका आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरूले सोेधिरहनु भएको छ– हस्ताक्षर गर्नुस् है भनेर आफैँ टेलिफोन गरेर मैले कसैलाई पनि भनेको छैन। तर शोध्ने मित्रहरूलाई भन्ने गरेको छु – हस्ताक्षर गर्नोस्’ उनले भनेका छन्।  
उनले पार्टीको विशेष महाधिवेशन पार्टीको विधानअनुसार नै भएकोले पार्टीलाई कमजोर नबाउने पनि बताएका छन्।  

कांग्रेसमा सभापति शेरबहादुर देउवाको नेतृत्व हटाउन विशेष महाधिवेशनको कुरा उठिरहेको छ। यसको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लिएका छन्। 

यस्तो छ उनको सन्देश 

१) विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नु कि नगर्नु ? 
कयौं जिल्लाबाट टेलीफोन र म्यासेज मार्फत नेपाली काँग्रेसका आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरूले सोधिरहनु भएको छ– हस्ताक्षर गर्नुस् है भनेर आफैं टेलिफोन गरेर मैले कसैलाई पनि भनेको छैन। तर शोध्ने मित्रहरूलाई भन्ने गरेको छु – हस्ताक्षर गर्नोस् ! 

२) कतिपय साथीहरूले दोस्रो जिज्ञासा राख्नु भएको छ– विशेष अधिवेशनले त पार्टीलाई झनै कमजोर बनाउँछ भन्छन् नि त!
मैले भन्ने गरेको छु– विशेष अधिवेशन विधान विपरीत होइन।  जब पार्टीको विधानमै यो व्यवस्था छ भने त्यसको परिपक्व ढंगले प्रयोग गर्दा त्यसले अन्ततः पार्टीलाई कमजोर बनाउन्न।  हामी सबै जान्दछौं, मान्छेको पनि अप्रेसन गरिँदा त्यसले थोरै असर निस्चय नै गर्छ, तर सफल अप्रेसनपछि मान्छे विस्तारै तन्दुरुस्त हुन्छ।

३) तेस्रो नम्बरमा कतिपयले शोध्नु भएको छ – २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठक हेरेर, त्यसपछि हस्ताक्षर उचित हो कि ? 
मैले स्पष्ट भन्ने गरेको छु, हस्ताक्षर गर्नु नै छ त किन आइतबार बार्नुहुन्छ? भनिन्छ नि लगनपछिको पोते के काम? 
जो मित्रहरूले हस्ताक्षर संकलनको नेतृत्व गर्दै हुनुन्छ तिनलाई प्रष्ट भनिदिनोस् – सरी म हस्ताक्षर गर्दिनँ। 
तर गर्न चाहनुहुन्छ भने २४ असोजभित्रै गर्नु राम्रो। 
किनकि २६ गतेको बैठकभन्दा १ दिनअघि नै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने योजना साथीहरूले बनाउनु भएको÷हामीलाई बताउनु भएको छ।साथ उभिन चाहेको हो भने, साइत किन हेर्नुहुन्छ?

४) ४० प्रतिशतको हस्ताक्षर नगरेर केन्द्रीय समितिले नै विशेष अधिवेशन बोलाए हुन्न? कतिपय मित्रले चौथो नम्बरमा यो सुझाव पनि दिनु भएको छ।
विल्कुल सही सुझाव पार्टी विधानको दफा १७ को उपदफा २ भन्छ – ’केन्द्रीय समितिले चाहेमा विशेष अधिवेशन बोलाउन सक्नेछ।
२६ गतेको बैठकमा यो सुझाव उपर पनि छलफल हुनेछ।
अहिलेको विषम परिस्थितिमा– हामी जमेको पोखरी जस्तो बस्न सक्दैनौं, उपयुक्त निष्कर्षमा हामी सबै पुग्न चाहन्छौं।
५) तर केन्द्रीय समितिले बोलाउन चाहेन भने कसो गर्ने ? पाँचौ जिज्ञासामा प्रष्ट धारणा यत्तिमात्र –
तब ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गरे बमोजिम विशेष अधिवेशनमा जाने। विधानको त्यही दफा र त्यही उपदफाले यो व्यवस्था गरेकै छ। 
६) हाँनीर छैटौं र सर्वाधिक महत्त्वपूर्ण प्रश्न उठ्छ – विशेष अधिवेशन उचित कि नियमित महाधिवेशन गर्नु उपयुुक्त?
मेरो प्रष्ट धारणा छ – मंसिर मसान्तभित्र गर्नेगरि पार्टीको १५ औं महाधिवेशन आयोजना गर्नु यतिबेलाको सर्वोत्तम बाटो हो। तब सबै तहले ताजा नेतृत्व पाउनेछ।
तब हामी विधानमा परिमार्जन गरेर बटम टु टप युवा सहभागीता व्यापक बढाउन सक्नेछौं।

७) यति छोटो समयमा नियमित महाधिवेशन गर्न सकिएला?
सक्नुपर्छ र जरुर सकिन्छ। 
जेनजी युवाहरूको दुई अढाइ दिनको प्रदर्शनले पूरै सत्ता उलटफेर गर्न सक्यो भने, दुई÷अढाइ महिनामा काँग्रेसको महाधिवेशन गर्न किन सकिन्न? सकिन्न कसैले भन्नुभएमा– तपाईंको हस्ताक्षरले हामी सबैलाई स्वागत गर्नेछ – विशेष महाधिवेशनमा !

अन्त्यमा ...
केन्द्रीय कार्यसमिति बैठकमा बहस होला, भिन्नभिन्न विचारहरु आउलान् , तर अन्ततः अत्यन्तै संयम र परिपक्वता पुर्वक छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नु हामी सबैको साझा जिम्मेवारी हो। हामी त्यो गर्नेछौं। हौसला राखौं, यत्ति संकल्प गरौं–
हामी बदलिन्छौ र बदलिएको समय अनुरुप काँग्रेस बदल्नेछौं। 
बदलिएको काँग्रेस तपाईं र मेरा लागि कम देशका लागि बढी जरुरी छ मैले भन्ने गरेको छु – जो बदलिन्छन् , तिनले नेतृत्व लिन्छन् , जो बदलिन्नन् तिनले बिदा लिन्छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad