राजनीति


शेरबहादुर देउवालाई तुरुन्तै हटाउने रणनीतिमा गगन-विश्व, शेखर भन्छन् : केन्द्रीय समितिसम्म कुरौँ

शेरबहादुर देउवालाई तुरुन्तै हटाउने रणनीतिमा गगन-विश्व, शेखर भन्छन् : केन्द्रीय समितिसम्म कुरौँ

सन्तोष अधिकारी
असोज २१, २०८२ मंगलबार १४:८, काठमाडौँ

भदौ २४ गतेयता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कहाँ र कुन अवस्थामा छन्, आधिकारिक रूपमा सार्वजनिक भएको छैन। 

भदौ २४ गते जेनजी आन्दोलनकारीले बूढानीलकण्ठस्थित निवास जलाएर, तोडफोड गरेर ध्वस्त पारे, देउवा र उनकी श्रीमती आरजु राणा देउवालाई निर्घात कुटपिट घाइते बनाए। उनीहरूलाई केही मनकारी आन्दोलनकारी र सुरक्षाकर्मीले उद्धार गरेका थिए। 

आक्रमणबाट देउवाको टाउको पछाडिको भागमा गहिरो चोट लागेको र टाँका लगाइएको भनेर कांग्रेसले जानकारी गराएको थियो। 
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार अहिले देउवाको टाउकोमा लगाइएको टाँका पनि निकालिइसकिएको छ। 
जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्किँदो छ। सबैभन्दा धेरै नेतृत्व परिवर्तनको बहस चलेको पार्टी हो नेपाली कांग्रेस। 

यो पार्टीका महामन्त्री गगनकुमार थापा नेतृत्व परिवर्तन अहिले नगरे कहिले भनेर कस्सिएका छन्। असोज २६ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठकले कांग्रेसको भावी रणनीति तय गर्ने भनिएको छ। यो बैठकबाटै सभापति देउवाले कार्यवाहक दिएर आफू विश्राम गर्नुपर्ने आवाज पनि उठिरहेको छ। 

‘अहिले सभापति देउवा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ। उहाँ धेरै ठीक भई पनि सक्नु भएको छ। तर, पनि बेलाबेला धेरै नै कमजोर महसुस हुने बताउँदै आउनु भएको छ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘अहिले पार्टीभित्र दुई वटा विषयमा छलफल भइरहेको छ। यसबारे सभापति आफैँले नै नेताहरूसँग कुरा गरिरहनुभएको छ।’

सभापतिले छलफल गरिरहेको दुई विषय केके हुन् भन्ने प्रश्नमा उनले भने, ‘अहिले सभापतिले नेताहरूलाई भेटेर, फोन गरेरै पनि राजनीतिक घटनाबारे छलफल गरिरहनु भएको छ। फोन र भेटमा केही शीर्ष नेताहरूले कार्यवाहक दिएर विश्राम लिन सुझाव दिनुभएको छ। केही नेताले अहिले कार्यवाहक नदिई छिटै उहाँ (देउवा)कै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नुपर्ने सुझाव दिइरहनु भएको छ।’ 

देउवाले यी दुई विकल्पमा आफू छलफल गर्न तयार रहेको बताएको विश्वकर्माको भनाइ छ। देउवानिकट अर्का एक नेताले भने उनी कार्यवाहक दिएर जान तयार रहेको तर अहिले जसरी दबाब दिन खोजिएको छ, त्यो स्वीकार्न तयार नभएको बताए।

‘सभापति अब कार्यवाहक दिएर जानुपर्छ भन्नेमा कन्भिन्स्ड र क्लियर हुनुहुन्छ। तर, अहिले जसरी सबै सभापतिले नै बिगारेको जसरी आरोप शीर्ष नेताहरूले नै लगाइरहनु भएको छ, त्यसरी आक्रमण गरेर पद छोड्न दबाब दिन त भएन नि!’ ती नेताले भने। 

केहीले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिन पनि भनेका छन्। उनलाई कार्यवाहक दिँदा देउवा टिममै फुट देखिने भएपछि देउवा सहजै कार्यवाहक दिन तयार छैनन्।  

असोज २६ गते केन्द्रीय समितिअघि कार्यसम्पादन समिति बैठक बस्दैछ। उक्त बैठकमा पनि सभापति छोडेर कार्यवाहक दिन तयार नभए ४० प्रतिशत बढी महाहधिवेशन प्रतिनिधिकिो हस्तार बुझाउने तयारी महामन्त्री गगन थापासहित नेताको छ। 

‘केन्द्रीय समिति बैठकअघि बस्ने कार्यसम्पादन समितिको बैठकमा सभापतिले कार्यवाहक दिने कुरा गर्नुभयो भने कुरा सकियो,’ कांग्रेसका अर्का एक पदाधिकारीले भने, ‘कार्यवाहक दिएर पार्टी चलाउने विषयमा सभापति तयार नभए हामीले ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेर राखेका छौँ, त्यो बुझाउँछौँ। एउटा सभापतिलाई अहिले नेतृत्वबाट बिदा गर्ने र अर्को विशेष महाधिवेशन वा नियमित महाधिवेशनको ग्यारेन्टीका लागि हस्ताक्षर बुझाउने हो।’ 

गगन र विश्वसँग शेखरको संवाद
सभापति पदबाट देउवालाई बिदा गर्न कोइराला र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा निरन्तर संवादमा छन्। शेखरले यसबारे सोमबार महामन्त्री थापासँग कुरा गरेका थिए।

‘सोमबार महामन्त्री (थापा) र शेखर दाइबीच कुरा भएको थियो। महामन्त्रीले सभापतिलाई जसरी पनि यसपटक हटाएर पार्टी रिफर्म गरौँ भन्नुभयो,’ छलफलमा रहेका शेखरनिकट एक नेताले नेपालखबरसँग भने, ‘शेखर दाइले पनि एक पटक केन्द्रीय समिति बैठकमा यसबारे उहाँलाई अनुरोध गरौँ। उहाँले मान्नु भएन भने केके विकल्प छन्, ती विकल्पमा गएर पार्टी सुधारमा लागौँ भन्नुभयो।’ 

उनका अनुसार कोइराला र थापा आगामी मंसिरमै नियमिति महाधिवेशन गर्नुपर्नेमा एकमत छन्। उनीहरूले पुरानो महाधिवेशन प्रतिनिधि कायमै राखेर वा केही दिनका लागि नयाँ सदस्यता तथा नवीकरण खुला गरी टुंग्याउन सकिने विषयमा पनि छलफल गरेका थिए। 
थापाले आगामी केन्द्रीय समितिको बैठकमै ४० प्रतिशतभन्दा धेरै हस्ताक्षर पेस गर्ने तयारी आफ्नो रहेको सुनाएका थिए। 

मंगलबार पनि कोइरालाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। छलफलमा महामन्त्री शर्माले नेतृत्व परिवर्तन यस पटक जसरी पनि गर्नैपर्नेमा जोड दिएका थिए। 

‘आजको छलफलमा महामन्त्री (शर्मा)ले नेतृत्व परिवर्तन यसैपटक गर्नुपर्ने र धेरै कुर्न नहुने प्रस्ताव राख्नुभएको थियो,’ छलफलबारे जानकार नेताले भने, ‘शेखर दाइले पनि एक पटक केन्द्रीय समितिमा यो प्रस्ताव गर्ने भन्नुभयो।’   

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसलाई बलियो शक्तिका रूपमा उभ्याउने हो भने सभापति देउवाले असोज २६ गतेको बैठकबाटै केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठनको प्रस्ताव गर्नुपर्ने बताउँछन्।

‘पार्टीको बृहत्तर एकताका लागि सभापतिले अब हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन तयारी समिति गठन गरिदिने नै हो सबैभन्दा उत्तम उपाय,’ उनले नेपालखबरसँग भने, ‘नत्र अझै जोखिम निम्तिने देखिन्छ। अबको चुनावमा शेरबहादुरसहित जाने कि उनीबाहेक जनतामाझ जाने भन्ने मुख्य चुनौती हो। उनी राजनीति छोड्न नचाहने हो भने उनको विकल्प खोज्नेले पार्टी फुटाएर पनि अघि जान सक्छन्। अबको केन्द्रीय समितिले धेरै कुराको छिनोफानो गर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad