नेपालमा जेन जी आन्दोलनले अविश्वसनीय तरिकाले दुई दिनमै सत्तापलट गरिदिएपछि अचम्मित हुनेहरूको संख्या सानो छैन। यो आन्दोलनका आयोजक र तिनका नियतबारे जति अड्कलबाजी चलिरहेका छन्, त्यसभन्दा बढी षड्यन्त्रका सिद्धान्तहरूले भाउ पाएका छन्। कसैले स्वदेशी अदृश्य शक्तिको हात देखेका छन् त कसैले विदेशी इसारा।
आफूलाई आन्दोलनको आयोजक र ‘असली जेनजी’ दाबी गर्ने समूह पनि धेरै वटा जन्मिसकेका छन्।
तर, भदौ २३ को आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिने जेनजी प्रतिनिधि पुरुषोत्तम यादव भने यसको आयोजक आफूहरू नै भएको बताउँछन्।
‘शान्तिपूर्ण आन्दोलनको योजनाकार मलाई नै भन्दा हुन्छ। हामीले नै अनुमति लियौँ। हामीले नै आयोजना गरेका हौँ,’ नेपालखबर ‘तत्कालै’मा आइपुगेका यादव भन्छन्, ‘मार्केटमा जसले पनि आफूलाई जेनजी दाबी गरिरहेका छन्। पार्टीहरूका पनि जेनजी भएका छन्। पार्टीका ज्याकेट लगाएर जेनजी लेखेका छन्। तर, हामी आधिकारिक हौँ।’
उनले जेनजी आन्दोलनको योजना धेरै अघिदेखि बनेको बताए।
‘दुई–तीन वर्ष अघिदेखि हामी भ्रष्टाचारका विरुद्धमा आवाज उठाइरहेका थियौँ। इन्डोनेसियामा नातावादविरुद्धको अभियानसम्बन्धी सामग्री सामाजिक सञ्जालमा देखिए। हामीले पनि त्यस्तै भिडिओ हाल्यौँ। त्यो त भाइरल भयो। त्यसपछि अरू भिडिओ पनि हाल्दै गयौँ। त्यसले माहोल बन्दै गयो। प्रभावशाली व्यक्तिहरू पनि बोल्न थाले। ८ सेप्टेम्बरमा हामीले प्रदर्शनका लागि आह्वानसहित भिडिओ हालेका थियौँ। प्रशासनबाट अनुमति पनि लियौँ,’ उनले सुनाए, ‘यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध थिएन। अहिले सबैले आआफ्ना मुद्दा हालिरहेका छन्। सामाजिक सञ्जाल प्रतिबन्धले ‘पुस’ गरेको मात्र हो। तर हाम्रो अभियान सामाजिक सञ्जाल प्रतिबन्धअघिदेखि नै थियो।’

रेडिटबाट थालिएको असन्तुष्टिको आगो फेसबुक र टिकटकमा फैलिएपछि भाइरल भएको थियो। २३ गतेको आन्दोलनको लागि अघिल्लो दिन यादवले सहायक प्रमुख जिल्ला अधिकारीलाई भेटेर शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएका थिए। तर, आन्दोलनमा घुसपैठ भएको उनको दाबी छ।
‘माइतीघरमा २–३ घण्टा बस्यौँ। त्यहाँबाट एभरेस्ट होटल पुग्ने र त्यहीँबाट फर्किने योजना थियो। त्यहाँ जानेबित्तिकै मान्छेहरू अगाडि बढे। बाइकहरू आए। भिड अनियन्त्रित भयो,’ उनले भने, ‘घुसपैठ पक्कै भएको हो। हामी हंगामा गर्ने मान्छे नै हैनौँ। शान्तिपूर्ण आन्दोलनका पक्षधर हौँ। संविधानले दिएको मौलिक अधिकार पनि हो। हामीले त्यही गरेको हो। संविधान मान्ने मान्छे हो। यस्तो हुन्छ भन्ने थाहा भएको भए सायद सीडीओ कार्यालय पनि जाँदैनथेँ।’
उनले भनेअनुसार घुसपैठ गर्ने को हो त?
‘त्यो त सरकारले हेर्ने कुरा हो। मैले धारणा बनाएर यो हो भन्न सक्ने कुरा होइन,’ यादवको जवाफ छ, ‘घुसपैठ रोक्ने काम पनि तत्कालीन सरकारकै हो। सरकार त्यसमा असफल भयो। त्यही असफलताका कारण राजीनामा दिएर भाग्नुपर्ने अवस्थामा पुग्यो।’
सत्ता पल्टाउने योजना पनि आफूहरूको नभएको उनले प्रस्ट पारे।
‘यति जनाको ज्यान जान्छ, सरकार नै ढल्छ भनेर अपेक्षा नै गरेका थिएनौँ। सत्ता नै पल्टाउने हाम्रो सोच थिएन। यो सबै सरकारको असफलता हो,’ यादव भन्छन्।
यो परिवर्तन नेपाली जनताले ल्याएकाले जेनजीको मात्र नभएको उनको तर्क छ।
आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री छनोटमा आफूहरूको कुनै हात नरहेको यादवको भनाइ छ।
‘मन्त्री चयनमा हाम्रो भूमिका छैन। हामीले प्रधानमन्त्रीलाई सम्पूर्ण जिम्मेवारी दिइसक्यौँ। उहाँले आफ्नो बुद्धिविवेकले काम गर्दै हुनुहुन्छ। काम गर्न पनि दिनुपर्छ। जेनजीबाट मन्त्री बन्नुपर्छ भन्ने माग छैन। मन्त्री बन्नका लागि यो आन्दोलन गरेका पनि होइनौँ,’ उनले भने।
जेनजीको माग प्रत्यक्ष कार्यकारी होइन, भ्रष्टाचारमुक्त देश भएको उनको भनाइ छ।
‘भ्रष्टाचारमुक्त देश चाहन्छौँ। राजनीतिक आधारमा सबैतिर हुने नियुक्ति रोकिनुपर्छ। योग्यताका आधारमा न्यायका आधारमा हुनुपर्छ। प्रत्यक्ष कार्यकारी मैले व्यक्तिगत भनेर हुँदैन। बहस हुनुपर्छ। प्रत्यक्ष कार्यकारीको व्यवस्था ल्याउँदा कोही जेलेन्स्की बने के गर्ने?’ उनी प्रश्न गर्छन्।
आफूहरूको मुख्य मुद्दा भ्रष्टाचार अन्त्य नै भएको उनले बताए।
यादव भन्छन्, ‘प्रदर्शनका बेला हाम्रो दुईवटा मात्र मुद्दा थियो– भ्रष्टाचार नहोस्, राजनीतिक र नाताको नियुक्ति नहोस्। देश बिग्रिएको र विकास नभएको यही कारण हो। हाम्रो देशको पैसा स्विस बैंकमा जम्मा भइरहेको छ। अस्ट्रेलियाको रियल स्टेटमा हामी अगाडि छौँ। यहाँको पैसा त्यहाँ कसरी पुगिरहेको छ? त्यसको स्रोत के हो? त्यो बुझ्नुपर्छ। ५० हजार तलब खाने कर्मचारीकहाँ करोडौँको सम्पत्ति कहाँबाट आयो? यो खोजी हुनुपर्छ। कुनै नेताले अस्ट्रेलियामा सम्पत्ति किन्छ, त्यो कहाँबाट आयो? कुन स्रोतबाट आएको हो? भ्रटाचार नै यो देशको सबैभन्दा ठूलो मुद्दा हो। त्यो सक्नेबित्तिकै यो देशमा अरू सबै ठिक हुन्छ।’

आन्दोलनयता सबैभन्दा बढी चर्चा र विवादमा रहेका सुदन गुरुले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लागिरहेको छ। तर, यादव उनलाई नेता मान्दैनन्।
‘सुदन गुरुङ नेता होइन, सहजकर्ता हो। मैले प्रदर्शनस्थलमै उहाँलाई भेटेको हो। उहाँले सेवा दिइरहनुभएको थियो। उहाँले पनि आफू स्वयंसेवक मात्र हो भन्नुभएको छ। मिडियाले उहाँलाई कहिले असल, कहिले खराब रुपमा प्रस्तुत गरिरहेको छ। त्यसमा हाम्रो आपत्ति पनि छैन, समर्थन पनि छैन,’ यादव भन्छन्, ‘जेनजी आन्दोलन कसैले हाइज्याक गर्न सक्दैन। मलाई कसैले हाइज्याक गर्न सक्दैन।’
जेनजी समूहमा फाटो आएको र गुटबन्दी सुरु भएको खबर आइरहँदा आफू सुदन गुरुङको गुटमा नरहेको पनि यादवले प्रस्ट पारे।
‘म कुनै गुटको मान्छे होइन। म सुदन गुटमा पनि छैन। उहाँ आफैँ जहाँ पुगे पनि जेनजीका कारण हो,’ उनले भने, ‘सुदनको आफ्नो एनजीओ छ। रक्षा बम अर्कोतिर हुनुहुन्छ। म कतै छैन।’
अब पार्टी नै खोलेर चुनावमा जाने प्रयासमा आफूहरू रहेको उनको भनाइ छ।
यो आन्दोलन कतै दर्ता छैन, कागजमा छैन, अब त्यो गर्न खोजिरहेका छौँ,’ यादवले भने, ‘पार्टी पनि खोल्ने सोचमा छौँ। सकेसम्म एउटै पार्टी खोल्ने प्रयास गर्छौँ र आउँदो चुनावमा पनि उठ्छौँ।’
जेनजी प्रतिनिधि पुरुषोत्तम यादवसँगको बाँकी कुराकानी हेर्नुहोस् नेपालखबर ‘तत्कालै’मा :

प्रतिक्रिया