ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ खोलिएको राजनीतिक दल उज्यालो नेपाल पार्टीसँग आफू संवादमा नरहेको बताएका छन्।
ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ताका लागि केही दिनअघि निर्वाचन आयोगमा निवेदन दिइएको छ।
सो पार्टीका विषयमा आज भर्चुअल बैठक गर्न लागिएको र त्यसमा मन्त्री घिसिङ पनि सहभागी हुने भन्ने हल्ला चलेपछि उनले अस्वीकार गरेका हुन्।
नेपालखबरसँगको कुराकानीमा उनले आफू अहिले कुनै पनि दलसँग सम्बद्ध र संवादमा नरहेको प्रतिक्रिया दिएका हुन्।
तत्कालीन ओली सरकारले कार्यकाल बाँकी छँदै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानपूर्ण ढंगले निकालेपछि घिसिङले ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका थिए।
तर संयोगवश जेनजी आन्दोलनपछि गठित नयाँ सरकारमा घिसिङले तीन मन्त्रालयको जिम्मेवारी पाउँदा ऊर्जा मन्त्रालय पनि सम्हाल्ने अवसर पाए।
यहीबीच उनको अभियानसँग मिल्दोजुल्दो नाम राखेर काभ्रेका ज्ञानेन्द्रकुमार तामाङले आफ्नो नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका हुन्।
यस क्रममा उनले कुलमानको समेत तस्बिर राखेर पार्टीको प्रचार गरिरहेका बेला घिसिङले यसमा आफू संलग्न नरहेको नेपालखबरसँग बताएका हुन्।
घिसिङ हाल ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि हुन्।
Shares

प्रतिक्रिया