ad ad

राजनीति


समाजवादी पार्टी र राजपाबीच मध्यरातमा एकीकरण, किन गरियाे रातारात एकता?

समाजवादी पार्टी र राजपाबीच मध्यरातमा एकीकरण, किन गरियाे रातारात एकता?

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १७:४५,

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ।

समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ।

‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भनिएको छ।

एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।

सो सहमति पत्रमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन्।

राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सो सहमति पत्रमा छैन।

हस्ताक्षरपछि गरिएको सामुहिक फोटोमा पनि ती दुई नेता देखिएका छैनन्।

किन भयो रातारात एकीकरण?
सरकारले सोमबार अचानक अध्यादेश ल्याई राजनीतिक दल बिभाजनलाई सहज बनाएपछि दुई दलबीच रातारात एकीकरण गर्ने सहमति भएको हो।

सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो।

यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो।

नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो।

समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो।

उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो। अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीकाे ४० प्रतिशत पुर्याए मात्र दलकाे मान्यता पाउनेछ।

तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।

एकीकरण गर्ने पक्षभन्दा पहिले नै नयाँ दल गठन गर्ने पक्ष निर्वाचन आयोग गएर दर्ता गर्न भ्याएमा त्यसले मान्यता पाउनेछ।

स्राेतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुकाे पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने याेजना अनुसार अध्यादेश ल्याएका हुन्।

त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएकाे हाे।

पहिलेदेखि एकीकरणका लागि वार्ता गरिरहेका यी दुइ पक्षबीच अन्तत: सरकारले ल्याएकाे अध्यादेशकै कारण एकता हुन पुगेकाे छ भने रेणु यादव पक्षकाे ४० प्रतिशत पुर्याएर नयाँ दल गठन गरी प्रधानमन्त्री ओलीसँग एलायन्स गर्ने याेजना पुरा हुन्छ हुँदैन अनिश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .