राजनीति


राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ, जे जे नहुनु थियो त्यो सबै भयो: पूर्वराजा ज्ञानेन्द्र

पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो दसैँ मनाउने, शुभेच्छुकलाई टीका नलगाउने
राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ, जे जे नहुनु थियो त्यो सबै भयो: पूर्वराजा ज्ञानेन्द्र

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८२ आइतबार १०:५९, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा शुभेच्छुकहरुलाई टीका र जमरा नलगाउने भएका छन्। 

आइतबार दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेकाले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै दसैँ मनाउन लागिएको जानकारी दिएका हुन्। 

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी वाध्य भएका छौँ,’ उनको सन्देशमा भनिएको छ, ‘हाम्रो आम शुभेच्छु नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट वृहत्तर रुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौँ।’

उनको सन्देशमा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुत्ताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्थित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख छ। 

उनको सन्देशमा भनिएको छ, ‘यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमान राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भर वा भूराजनीतिक चक्रब्युहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ।’

उनले सबै देशवासीको आशा, आकांक्षा र अभिलाषा नै उत्तरोत्तर विकास भएको बताएका छन्। 

‘हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रवन्ध परिपाटिमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ,’ उनले अगाडि भनेका छन्, ‘विगत केही समययता देश र जनताको सर्वोत्तम हितका खातिर हामीले गहिरो चिन्ता, चासो तथा सड्लो दृष्टिकोण अघि सार्दै आएका थियौँ। नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थापनले समेट्नै पर्दछ।’ 

उनले विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नै पर्नेमा पनि जोड दिएका छन्। भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै आएको राष्टिय समाजको संरचनालाई अँगाल्नुपर्ने उनको भनाई छ। 

‘युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले आफ्नो पन, पहिचान र मूल्य मान्यताको ख्याल राख्नै पर्दछ,’ उनको सन्देशमा अगाडि भनिएको छ, ‘युवा पुस्ता हाम्रो भविष्यका आधारस्तम्भ हुन्। उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्दछ। हाम्रो देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ। बिगार्ने, भत्काउने, जलाउनतिर नै हाम्रो राजकाज धेरै खटि परे। अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।’

सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्टलाई माया गर्ने राष्टिय सोच र चेत पनि हामीमा हुनै पर्नेमा उनको जोड छ। ‘जे भयो, भयो, जे जे नहुनु थियो, त्यो सबै भयो। अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्,’ उनको सन्देशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad