पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेन-जी अगुवा र जेन-जी विद्रोहको जगमा बनेको अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ-सामग्री बन्न सक्ने भन्दै ‘आफ्नै जीवनको सत्य घटना’ सुनाएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले २०५० जेठ ३ गते चितवनको दासढुंगानजिक त्रिशूलीमा जिप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि देशमा जनआक्रोश पैदा भएका बेलाको घटना सुनाएका हुन्।
जसमा डा भट्टराईले त्यसबेला भएको आन्दोलनपश्चात् आफू पनि सहभागी वार्तामा आन्दोलनकारीलाई कसरी झुक्याइयो भन्ने कुरा उल्लेख गरेका छन्।
यस्तो छ, भट्टराईले सुनाएको त्यो कथा:
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जिप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो। थप जनधनको क्षति हुनथाल्यो।
एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कंदै गयो। निष्पक्ष छानबिन, दोषीलाई कारबाहीलगायतका मागहरू अतिरिक्त तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुपर्ने मुख्य मागहरू बने। सरकार टसमस भएन।
महिनौँको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता गर्ने सहमति भयो।
आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौँ। सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्वप्रम कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनुभयो। ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो।
लामो रस्साकस्सीपछि अरू कुराहरूमा सहमति बन्दै गयो। तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्यो। हामी पनि टसमस भएनौँ। अन्त्यमा किसुनजीले भन्नुभयो- 'लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु।'
हामीले भन्यौँ- 'मिति तोक्नुपर्छ।'
किसुनजीले भन्नुभयो- 'लौ लौ, भदौ ३० गते! मेरो वचन भयो।'
मेरो मनमा शंका लाग्यो। किनकि म त्यतिबेला ३९ वर्षको जल्दोबल्दो थिएँ।
मैले भनेँ- 'किसुनजी, यसको एउटा लिखत गरौँ न त!'
किसुनजीले बोल्नु अघि नै उहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो- 'किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि! उहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ।'
म हिस्स परेँ।
भदौ ३० गते आयो। प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्नुभएन।
बरु 'सन्तनेता'ले पो भन्नुभयो- 'मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ।'
सबै फासफुस भयो।
यसको पाठ हो- राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन, शंकासहितको विश्वास गर्नुपर्छ।
विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन-जी अभियन्ताहरूले पनि सिक्ने कि?
Shares

प्रतिक्रिया