राजनीति


बालुवाटारबाट भाग्दाको क्षण सम्झिँदै ओलीले भने: नत्र ५ मिनेटभित्र मार्ने रहेछन्

बालुवाटारबाट भाग्दाको क्षण सम्झिँदै ओलीले भने: नत्र ५ मिनेटभित्र मार्ने रहेछन्

नेपालखबर
असोज ११, २०८२ शनिबार ११:४३, काठमाडौँ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ५ मिनेट मात्रै ढिला भएको भए आफू मारिने अवस्था रहेको दाबी गरेका छन्। 

आन्दोलनकारीले घर जलाइदिएपछि हाल भक्तपुरको गुन्डुमा डेरा लिई बसेका एमाले अध्यक्ष ओलीले आफूलाई भेट्न आएका पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको टोलीलाई त्यस दिन सरकारी निवास बालुवाटारबाट भाग्दाको क्षण सुनाएका हुन्। 

महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीसँग ओलीले त्यस दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई चाहिँ घाइते मात्र बनाउने तर आफूलाई मार्ने नै योजना रहेको दाबी गरेका हुन्। 

‘पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए। शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाईचाहिँ मार्ने खालकै योजना रहेछ’, ओलीले भने, ‘मार्न खोजेका हुन् तर पाएनन्। अर्को मैले आफ्नो तयारी पनि गर्न पाइनँ। सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर हामी केही पनि गर्न सक्दैनौँ भनेर अन्तिममा सेनाले भगाइसम्म दियो। त्यहाँबाट निकाल्यो भनौँ न। नत्र त पाँच मिनेटभित्र मार्ने नै रहेछ। त्यो अवस्थाबाट पनि जोगिया छ।’

उनले थपे, ‘देशै जलाउने खालका आततायी, अपराधिक घटनाहरू यो त महाअपराधिक घटना, क्रियाकलाप हो। यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौँ। एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रोचाहिँ अलिकति कमजोरी भयो। यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्त्वहरू, अपराधि तत्त्वहरू विभिन्न ठाउँ-ठाउँमा पनि पुग्या रहेछन्।’

भ्रष्टाचारविरुद्ध गत भदौ २३ गते जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ युवा मारिएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो। त्यस दिन प्रदर्शनकारी सरकारी तथा नेताका घर तोडफोड र आगजनीमा उत्रिए। त्यस क्रममा प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै पसेर कांग्रेस सभापति देउवा दम्पतीलाई कुटिपट गरे भने भक्तपुरस्थित ओलीको निवास पनि जलाए। 

ओलीलगायत शीर्ष नेताको ज्यान नै जोखिममा परेपछि नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर राखेको थियो।

नेपाली सेनाको ब्यारेकबाट ९ दिनपछि असोज २ गते मात्र ओली एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत कार्यकर्ताको संरक्षणमा गुन्डुस्थित डेरामा सरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad