शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन्।
पुराना नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुन मन्त्री पुनले अपिल गरेका हुन्।
मन्त्री पुनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्ट आह्वान- भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्दछु। कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन।’

अहिले जेनजी आन्दोलको एउटा माग प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने पनि हो भनेर आवाज उठिरहेको छ।
तर प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताएकी छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत आम परिवर्तनका पक्षधर नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भइ संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु।’
Shares

प्रतिक्रिया