समाज


मुख्ययाममै सुनसान बने म्याग्दीका पर्यटकीय स्थल

मुख्ययाममै सुनसान बने म्याग्दीका पर्यटकीय स्थल

नेपालखबर
असोज १०, २०८२ शुक्रबार ७:५६, म्याग्दी

मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान छन्। विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला छन्।

‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौंसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौं सडकमा पहिरो लगायतका कारण पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए। ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ’, उनले भने, ‘होटल र पर्यटकीयस्थल सुनसान छन्।’

विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जाने–आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो। सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको संख्या न्यून भएको स्थानीय बताउँछन्।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटक फाट्टफुट्टमात्र देखिएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए। ‘मेरो होटलमा बास बस्न आउने भनेका ३६ विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्’, उनले भने, ‘विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन्।’

घोडेपानीमा बास बसेका पर्यटक त्यहाँबाट ३० मिनेट उकालो पैदलयात्रा गरेपछि समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा पुग्छन् । पुनहिलबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको अवलोकन गर्न पाइन्छ । असोज–कात्तिकको शरदयाममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै संख्यामा स्वदेशी पर्यटक आउने गर्दथे।

म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीमा दैनिक एक हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ।

बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ।

जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी संकलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ। भुरुङ–तातोपानी बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो।

भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए। ‘दशैंअघि पर्यटक आगमन निराशाजनक छ’, उनले भने, ‘दशैंपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौँ।’

भुरुङ–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशविन्दु पनि हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad