नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा लिखित धाराणा राख्दै उनले राजीनामा दिएका पदाधिकारीले आगामी महाधिवेशनको निर्वाचन प्रक्रियामा समेत भाग नलिने निर्णय गर्नुपर्ने उल्लेख गरेका छन्।
‘हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ र आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौँ,’ शर्माको प्रस्तावमा भनिएको छ।
हालका अध्यक्ष तथा सबै पदाधिकारी निर्देशक कमिटीको रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्नुुपर्ने समेत उनको मत छ।
‘पार्टीको सैद्धान्तिक, राजनीतिक एवं वैचारिक पृष्ठपोषण गर्न र नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धतासहित हालका अध्यक्ष तथा सबै पदाधिकारी निर्देशक कमिटीको रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गरौँ,’ शर्माले भने, ‘निर्देशक कमिटीले महाधिवेशनबाट निर्वाचित नयाँ पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गरौँ। यस विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्यांकन मात्र होइन, पार्टीको नवजीवनको सुनिश्चितता पनि सुनिश्चित गर्छ।’
उनले यसको अर्थ प्रचण्डले गरेको योगदानको नजरअन्दाज गरेको नहुने समेत उनको धारणा छ। ‘यसको अर्थ अध्यक्ष प्रचण्डले गरेको योगदान र टिमको भूमिकालाई नजरअन्दाज गर्नु होइन, अध्यक्ष प्रचण्डले जनयुद्ध अगाडि गरेका साङ्गठनिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौँ,’ शर्माको भनाइ छ। 









Shares

प्रतिक्रिया