राजनीति


जेनजी आन्दोलनमा भएका क्षतिप्रति माफी माग्दै योगेशले भने: एमाले पुनर्गठन गर्नुपर्छ

‘पुनर्गठनको आवाजलाई नेताहरूको अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो’
जेनजी आन्दोलनमा भएका क्षतिप्रति माफी माग्दै योगेशले भने: एमाले पुनर्गठन गर्नुपर्छ

नेपालखबर
असोज ९, २०८२ बिहिबार १३:४३, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी आन्दोलन हुनुमा आफ्नो पार्टीको गल्ती स्वीकार गर्दै माफी मागेका छन्। साथै उनले पार्टी पुनर्गठनको माग पनि गरेका छन्। 

जेनजी आन्दोलनका क्रममा त्यत्रो विनाश हुँदा पनि तत्कालीन सरकार नेतृत्वकर्ता दल एमालेले अहिलेसम्म गल्ती स्वीकार नगरेको भनेर व्यापक आलोचना भइरहेका बेला सचिव भट्टराईले बिहीबार वक्तव्य जारी गरी क्षमायाचना गरेका हुन्।  

‘मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चारमाध्यमहरू पढिरहेको छु। तपाईंहरूले हामीलाई सोधिरहनुभएको छ- तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन? आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ। हो, असल प्रयास र प्रयत्नहरू जारी थिए। अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको बीचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ। तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ। यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ। र, हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ,’ भट्टराईले भनेका छन्। 

यस क्रममा उनले अब नेकपा एमालेलाई पनि पुनर्गठन गर्नु अपरिहार्य भएको उल्लेख गरेका छन्। 

‘ग्राम्सीले भनेजस्तै अब नेकपा एमालेलाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ’, उनले भनेका छन्, ‘फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं हामी पनि उहाँहरूसँगै थियौँ। यो जसअपजसको भागीदार हामी पनि हौँ। त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मानसहित पुनर्गठन।’

पार्टी पुनर्गठनको कुरा गर्दा अग्रज नेताहरूको अपमानको रूपमा अर्थ लगाउनु गलत हुने तर्क एमाले सचिव भट्टराईले गरेका छन्। 

‘सम्झिनुहोस् त, दुनियाँको इतिहास। लेनिनका, मार्क्सका सालिकहरू ढालिएका इतिहास तपाईं हामीले पढेका छौँ। हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ। इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो’, उनले भनेका छन्, ‘पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो। वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन्।’

यस्तो छ, एमाले सचिव योगेश भट्टराईको पूरा वक्तव्य:

आदरणीय जनसमुदाय

प्रिय कमरेडहरू,

‘जेनजी’ प्रर्दशनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं हामी बिस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौँ। तर यसले छोडेको असर भने युगौँसम्म रहनेछ। भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधारण बदलाब ल्याएको छ।

भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुंग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरू छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरूमा घाउचोट लागेको छ। मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङतिर लैजाने चिन्ताहरू पनि उत्तिकै छ। मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो सर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयामिक रूपान्तरण गर्नु अनिवार्य र पहिलो सर्त हो।

भदौ २३ मा सामाजिकसञ्जाल बन्दको विरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेनजीमाथि तीव्र दमन भयो। यो दमनको न्यायिक छानबिन हुनुपर्छ। एकातिर आफ्नो माग र भावनाहरूप्रतिको अपमान/बेवास्ता गरिएको निष्कर्ष, अर्कातिर आफ्ना निहत्था साथीहरूमाथि भएको बर्बर दमनप्रतिको आक्रोश। त्यही मौका छोपेर फरक-फरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेनजी आन्दोलन दुरुपयोग भयो। आन्दोलनमा शृंखलाबद्ध र संगठित घुसपैठ गरियो। आपराधिक गतिविधि भयो। हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमा आगो झोसियो। निजी तथा व्यावसायिक संरचनामामाथि आगजनी र तोडफोड गरियो। हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरू खण्ड भए। आफ्नो समयमा परिर्वतन र रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्नुभएका हाम्रा नेताहरूमाथि आक्रमण भयो, घर जलाइयो। यसले भदौ २३ गते जेनजीहरूले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो। विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेनजीहरूको भावना र आर्दशविरुद्धमा थियो। यसको सत्यतथ्य छानबिन हुनुपर्छ।

नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ। आज म त्यतातिर धेरै चर्चा गर्न चाहन्नँ। भोलिका दिनमा सबै कुरा उद्घाटित हुँदै जानेछन्। एउटा भनाइ छ, ‘अर्कालाई दोष लगाउनुपूर्व आफ्नौ थैली बलियो गरी कस्नु।’ छिमेकी मित्र राष्ट्रहरू तथा अन्य मित्र राष्ट्रहरूलाई म भन्न चाहन्छु- ‘तपाईंहरूले नेपालको लोकतान्त्रिक प्रक्रिया र नेपालीहरूको विकासको चाहनालाई गर्दै आउनुभएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुने छैन भन्ने मेरो गहिरो विश्वास छ। संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवनको लागि तपाईंहरूको सकारात्मक सद्‌भाव भने अपेक्षित छ।’

कमरेडहरू,

हो, हाम्रासामु एकातिर पीडाहरू छन्, हतासा छ, निराशाहरू छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि। यो सँगसँगै आशा र अपेक्षाहरू पनि छन्। सबैभन्दा बढी प्रश्नहरू छन्। तपाईंहरूले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनुभएको छ, ‘अब तिमिहरूले हिँड्ने बाटो कुन हो?बदलिन्छौँ कि उस्तै बस्छौँ?’

मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चारमाध्यमहरू पढिरहेको छु। तपाईंहरूले हामीलाई सोधिरहनुभएको छ, ‘तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ। हो, असल प्रयास र प्रयत्नहरू जारी थिए। अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको बीचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ। तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ। यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ। र, हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ।’

यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरू पनि प्रकट भएका छन्। सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन्। कतिपयहरूले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन्। फेरि पनि त्यसको लागि संविधानको रक्षा पहिलो सर्त हो। हामीले जुन व्यवस्था अपनाएका छौँ, राजनीतिक दलहरू नै यसको समाधान हुन्। नयाँ पुस्ताको भावना र माग सम्बोधनसहित निर्वाचनमार्फत संविधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो काम हो। केही परिमार्जन आवश्यक रहेछ भने पनि संविधानले देखाएको बाटोबाटै परिमार्जन गर्न सकिन्छ।

तर, आज अत्यधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ?’

हामीप्रति आशाले हेरिरहनुभएका अधिकांश बुद्धीजीवी, नेता तथा कार्यकर्ता, शुभेच्छकहरूको भनाइ छ, ‘अब पुनर्गठनविना सम्भव छैन। मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ।’

अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ। चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्‍याउँछ। अवस्था अभूतपूर्व रूपमा बदलिएको छ। भदौ २२ र आज उस्तै हुँदै होइन। आज हामी बिलकुल नयाँ चेतनामाथि उभिएका छौँ। दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन्, यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ।’

कमरेडहरू, ग्राम्सीले भनेजस्तै अब नेकपा एमालेलाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ। फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं हामी पनि उहाँहरूसँगै थियौँ। यो जसअपजसको भागीदार हामी पनि हौँ। त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मानसहित पुनर्गठन।’

फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ। म तपाईंहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ। इतिहास रहन्छ।’

सम्झिनुहोस् त, दुनियाँको इतिहास। लेनिनका, मार्क्सका शालिकहरू ढालिएका इतिहास तपाईं हामीले पढेका छौँ। हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ। इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो। पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो। वस्तुत: यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन्।

हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो। सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिस्ट आन्दोलन ठुलो संकट आयो। सोभियतको पतन कम्युनिस्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो। स्वाभाविक रूपमा चेतनाहरू पनि बदलिए। आन्दोलन रक्षात्मक भयो। त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो। नयाँ चेतनाको निर्माण भयो। र, नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको हो। २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कु’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नाटा छाएको थियो। त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो। अन्ततः नेकपा एमालेको नवौँ महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो। पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो। पार्टी बच्यो, आन्दोलन सफल भयो। नेतृत्वको सम्मान पुन:स्थापित भयो। पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो। हामी सबैले त्यो क्षणलाई पुन: स्मरण गरौँ।

त्यसैले कमरेडहरू, अहिले हामीले संविधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ। त्यसको लागि हामी सम्हालिएर नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुछ। आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन, वस्तुगत अवस्थालाई स्वीकार गर्ने साहस गर्नुपर्छ।

हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरू, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरू, जसले हामीलाई आशाका नजरले हेरिरहनुभएका आम जनसमुदाय सबैलाई म भन्न चाहन्छु, ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ। र, पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ।’

मार्क्सले भन्नुभएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन। निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ।’

यो निराशा र संकटको अवस्था स्थायी होइन। इतिहासमा हामीले ठुल्ठुला संकट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ। तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ। त्यही स्वीकारोक्तिसहितको अभियानको लागि अपिलसमेत गर्दछु। आत्मभर्त्सना बन्द गरौँ, आत्मसमीक्षा डटेर गरौँ। भनिन्छ नि- कमजोरी स्वीकार कमजोरहरूले गर्न सक्दैनन्। लेनिनले भन्नुभएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन। कमजोरी लुकाउनु भनेको दुस्मनलाई बलियो बनाउन सहयोग गर्नु हो।’

हामी एक्लाएक्लै होइन, सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौँ, खुला खुलस्त हौँ। सबैको अस्तित्व र भूमिकालाई स्वीकार गरौँ। हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो नकि लेनिनले भनेजस्तै अरू कसैको।

योगेश भट्टराई

सचिव, नेकपा एमाले

मिति : ९ असोज २०८२

धन्यवाद।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad