राजनीति


माओवादीमा जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’: राजीनामा माग्नेलाई प्रचण्डको ‘चेक’

वर्षमान भन्छन् : अब माओवादीको नेतृत्व नयाँ पुस्तामा आउँछ
माओवादीमा जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’: राजीनामा माग्नेलाई प्रचण्डको ‘चेक’

सागर न्यौपाने
असोज ५, २०८२ आइतबार २२:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आगामी मंसिर अन्तिम साता विशेष महाधिवशेन गर्ने भएको छ। त्यसका लागि केन्द्रीय समिति भंग गरेर आयोजक समिति बनाउने भएको छ। संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहने छन्। 

जेन–जी आन्दोलनले सत्ता उलटफेर भएपछि उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व छोड्नुपर्ने भन्दै प्रचण्डको राजीनामा मागेका थिए।

तर, आइतबार आकस्मिक पदाधिकारी बैठक राखेर प्रचण्डले  नेतृत्व छान्नेगरी मंसिरमा विशेष महाधिवेशन गर्न राखेको प्रस्ताव पारित गराए। यद्यपि, दुई जना नेताले भने तत्काल महाधिवेशन नगर्न सुझाएका थिए। माओवादीले २०७८ पुसमा महाधिवेशन गरेको थियो।

तर भदौ २३ र २४ गते जेन–जी आन्दोलनले नेपाली राजनीतिमै बदलाव ल्याएपछि अध्यक्ष प्रचण्डले ‘चाँडै विशेष महाधिवेशन’ गर्नुपर्ने बताएका थिए। जसलाई पदाधिकारी बैठकले पारित गर्‍यो। 

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार यसबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक असोज ९ गते बोलाइएको छ। सोही बैठकले यसको औपचारिक निर्णय गरेर माओवादी महाधिवेशनमा होमिनेछ। त्यसअघि असोज ८ गते स्थायी समिति बैठक बस्नेछ। महाधिवेशन सम्बन्धी निर्णय केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने प्रावधान छ। 

जेन–जी आन्दोलनपछि दलभित्र नेतृत्व गरिरहेका नेता फेर्नुपर्ने आवाज उठ्न थालेको थियो। माओवादीभित्र उपमहासचिव जनार्दन शर्माले यो विषय जोडतोडले उठाए।

आफूनिकट भेला राखेर शर्माले प्रचण्डले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव नै तयार पारे। तर, शर्माका सबै योजनाको जवाफ प्रचण्डले एकैपटक दिएका छन्।

उपमहासचिव वर्षमान पुनका अनुसार अब माओवादी नयाँ पुस्ताको पार्टी हुनेछ। 

‘महाधिवेशनसम्म जाँदा हामी दस वर्षे जनयुद्ध, जनआन्दोलन र संविधान निर्माणमा भएका योगदानलाई स्थापित गर्ने र नयाँ पुस्तामा नेतृत्व लानेगरी तयारी गर्छाैँ। माहोल बनाउँछौँ,’ उनले नेपालखबरसँग भने, ‘महाधिवेशनमा हामीले भनेको जस्तो मात्र त हुँदैन, त्यही भएर चुन्ने चुनिने नयाँ पुस्तामा जाने वातावरण हामी बनाउँछौँ।’

चुनावमा धेरैभन्दा धेरै युवालाई अवसर दिनेगरी तयारी गरिने उनको भनाइ छ।

‘महाधिवेशनमा विचारको, नेतृत्वको, चुनावमा प्रस्तुत गर्ने एजेन्डा र चुनावमा प्रस्तुत गर्ने नयाँ युवाबारे छलफल हुन्छ,’ उनले थपे, ‘त्यसको जगमा हामी नयाँ चुनाव फेस गर्ने वातावरण बनाउँछौँ। चुनावमा धेरैभन्दा धेरै युवालाई प्रस्तुत गर्नेगरी हामी तयारी गर्छाैँ।’

७१ वर्षका प्रचण्ड विशेष महाधिवेशनमा उठ्छन् कि उठ्दैनन्? त्यो प्रष्ट छैन। तर, उनले आफ्नो राजीनामा माग गर्ने ६० वर्षे जनार्दन शर्मा सहितका नेतालाई प्रत्यक्ष चुनाव लडेर नेतृत्व लिने अवसर पनि दिएका छन्। पार्टीमा पुस्तान्तरणको बहस जोडतोडले उठेको बेला प्रचण्डले चुनावमै गएर जितेर नेतृत्व लिन भनेका छन्। 

उपमहासचिव हरिबोल गजुरेलले मंसिरमा महाधिवेशन तोकेर प्रचण्डले शर्मालाई जवाफ दिएको बताए। उनले पार्टी पुनर्गठनको प्रक्रिया अघि बढेको बताए। 

‘यस्तो विशिष्ट परिस्थितिमा गर्नुपर्‍यो, हामी महाधिवेशनमा होमियौँ, जेन–जीले उठाएका माग मुद्दा यो पनि हो,’ गजुरेलले भने, ‘अध्यक्षको राजीनामा मागेका नेतालाई यो चेक पनि हो। तयारी गर, आऊ, सक्छौ भने जितेर लैजाऊ, सक्तैनौ भने स्वीकार गर, सधैँ किचकिच गरेर नबस भनेकै हो।’ 

केन्द्रीय समिति भद्दा भएको, प्रचण्डमाथि चुनाव नलडी वर्षाैंदेखि अध्यक्ष पदमा रहेको आरोपको खण्डन गर्नको लागि पनि महाधिवेशनको आवश्यकता रहेको उनी बताउँछन्।

‘विचार, नीति र संगठनात्मक पहलको हिसाबले आजको निर्णयले ठीकै गरेको छ,’ उनले थपे, ‘महाधिवेशनमा प्रत्यक्ष निर्वाचन गरेर नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छैन। यद्यपि, अब महाधिवेशनले त्यो व्यवस्था राख्न सक्छ।’

सचिव गंगानारायण श्रेष्ठ संकटको बेलामा प्रचण्डको क्षमता देखिने गरेको बताए।  

‘अध्यक्षको विशेषता यही हो। यसपटक उहाँलाई फेरि ठूलो अवसर आएको छ, पार्टीभित्रको कोर्स करेक्सनको,’ श्रेष्ठले भने, ‘राष्ट्रले नेता खोजिरहेको छ, प्रचण्ड पार्टीको मात्र होइन, राष्ट्रकै नेता बन्ने अवस्था बनेको छ। जेनजीको विद्रोहले राष्ट्रमा एउटा नेता खोजिरहेको छ। त्यो मै हुँ भनेर देखाउने बेला हो।’

जेन–जी आन्दोलनकै बलमा कांग्रेस–एमाले सत्ता ढलेपछि भदौ २६ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ। उनले ६ महिनाभित्र चुनाव गराउने म्यान्डेट पाएकी छन्। 

तर, अहिले चुनाव गर्न नदिने खेलहरू भइरहेको उपमहासचिव पुन बताउँछन्। माओवादी अब महाधिवेशन हुँदै चुनावमा केन्द्रित हुने उनले बताए।

‘मूल रूपमा जेनजी आन्दोलनको बलमा भएकोले चुनाव सम्पन्न गरेर त्यहाँबाट आउने फ्रेस म्यान्डेटबाट मात्र यो देशका समस्या सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले उठाएका सुशासनका मुद्दाहरू, रोजगारी सिर्जनाका मुद्दाहरू, परिवारवादले पारेको समस्या र हामीले उठाउँदै आएका कुराको सम्बोधन फ्रेस म्यान्डेटबाट आएको प्रतिनिधिले मात्र गर्नसक्छ। त्यसका लागि पनि चुनाव हुनैपर्छ।’ 

जेनजी आन्दोलनपछि कांग्रेस र एमाले अलमलिरहेका छन्। यस्तो बेला माओवादीका प्रचण्ड एक कदम अघि बढेका छन् र पार्टीभित्रको खिचातानीलाई बिसाएका छन्।

जेन–जीले भदौ २३ गते देशका केही जिल्लामा प्रदर्शन गरेका थिए। तर, सो शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रहरीले गोली चलाएको थियो। जसमा परेर २१ जना युवाको ज्यान गयो। आक्रोशित युवाले भदौ २४ गते देशभर प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाडेका थिए।

त्यसपछि जेन–जीकै माग अनुसार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन्। लगत्तै संसद् विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad