राजनीति


बालुवाटारमा के गर्दैछिन् सुमना?

बालुवाटारमा के गर्दैछिन् सुमना?

नेपालखबर
असोज ३, २०८२ शुक्रबार २०:३७, काठमाडौँ

गत भदौ २७ गते शुक्रबार एउटा तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो। प्रसंग थियो, तत्कालीन रास्वपा नेतृ सुमना श्रेष्ठ र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अंकमाल गरेको।

शीतलनिवासमा प्रधानमन्त्रीको शपथपछि शुभकामना ग्रहण गरिरहेकी कार्कीसमक्ष श्रेष्ठ पुगेपछि दुवै जना खुसी देखिन्थे, अनि गर्ल्याम्म  अंकमाल गरे। 

यसबारे सञ्चारमाध्यममा समाचार पनि बने र चर्चा झनै चुलियो। यता सञ्जालमा चर्चा भइरहँदा यस तस्बिर र भिडिओले रास्वपाभित्र भने आगो सल्किएको थियो।  

पार्टीमा यसलाई लिएर आलोचना बढेपछि आइतबार नै श्रेष्ठले रास्वपा परित्याग गरेको घोषणा गरिन्। 

रास्वपाबाट राजीनामा दिएकी श्रेष्ठ अहिले के गर्दैछिन् त?

भदौ २३ र २४ गते काठमाडौँसहित देशभर आन्दोलन गरेको जेनजीकै कारण अहिले अन्तरिम सरकार बनेको छ। दल र तत्कालीन सरकारको नेतृत्व गरेकाहरू भागाभाग भए। प्राय: सबै नेपाली सेनाको शरणमा पुगे। सेनाले कोहीलाई गाडीबाट त केपी ओलीसहित केहीलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो। 

त्यसपछि सेनाले अन्तरिम सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलका लागि संवाद र सहजीकरण गरिदियो। सेनाले संवादका लागि जेनजीका प्रतिनिधिसहितलाई आह्वान गर्‍यो। 

जेनजीका तर्फबाट सेनासँग कसले छलफल गर्ने भन्ने अन्योल भयो। त्यही अन्योलकै बीच जेनजीका प्रतिनिधिले सुमना श्रेष्ठलाई अभिभावक बनेर सेनासँग आफ्ना कुरा राखिदिन आग्रह गरे। 

तर, सुमनाले आफू राजनीतिक दलमा आबद्ध भएको र आफू जेनजीको प्रतिनिधिका रुपमा छलफलमा जाँदा जेनजीको आन्दोलनमा पनि राजनीतिक गन्ध आउने भन्दै असमर्थता प्रकट गरिन्।  

अहिले सुमना दलमा छैनन्। रास्वपा छाडिसकेपछि भने जेनजीका तर्फबाट पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउन थालेको बुझिएको छ।

बालुवाटार स्रोतका अनुसार आज (शुक्रबार) साँझ मात्रै उनी बालुवाटार पुगेकी थिइन्। प्रधानमन्त्री र मन्त्रीहरू राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर बालुवाटार फर्किँदा सुमना पनि त्यहाँ पुगेकी थिइन्।

स्रोतले दिएको जानकारी अनुसार उनले प्रधानमन्त्री कार्कीसँग छलफल गरेकी छन्। त्यतिबेला अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल पनि त्यहीँ थिए। उनी मन्त्रीहरुसँग पनि गफिँदै थिइन्।

उनको अहिलेको सक्रियता नयाँ मन्त्रीका सम्भावित नाममा केन्द्रित रहेको बताइएको छ। सुमना आफैँले भने मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेकी छन्। 

अहिले उनले जेनजीका तर्फबाट मन्त्रीका सम्भावित नामहरूको बायोडाटा हेर्ने र प्रधानमन्त्री तथा मन्त्रीहरूसँग उनीहरूका विषयमा कुरा गर्ने गरिरहेकी छन्।  

बालुवाटार स्रोतले सरकारका तर्फ मन्त्री छनोटमा सुमनाको भूमिका नरहेको दाबी गरेको छ। तर, अन्य मन्त्रीका निकटस्थहरू भने जेनजीका माग र प्रस्तावपछि मन्त्रीका लागि आएका विभिन्न नामहरू लिएर उनी लगातार छलफलमा व्यस्त देखिएको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad