राजनीति


राष्ट्रपति रामचन्द्र पौडेलको १४ नागरिकसँगको भेटको ‘रिडआउट’

‘६ महिनाभित्र संसद जस्ताको तस्तै बनाउने हो’
राष्ट्रपति रामचन्द्र पौडेलको १४ नागरिकसँगको भेटको ‘रिडआउट’

नेपालखबर
असोज २, २०८२ बिहिबार २१:२७, काठमाडौँ

२३ गते त्यत्रो आन्दोलन भयो, त्यो दिन र भोलिपल्ट जनधनको ठूलो क्षति भयो। सबैतिर भयाभह अवस्था थियो, अनि आन्दोलनकारी र दलहरूसँग कुरा गर्नुपर्ने भयो। अब प्रश्न उठ्यो– वार्ता को सँग गर्ने। मैले प्रधानसेनापतिलाई भनेँ, जेन–जीको प्रतिनिधिहरू आइडेन्टिफाइ गर्नुहोस्। सेनापतिलाई थाहा थियो उहाँ आफुले वार्ता गर्ने होइन, तर वार्ताको लागि प्रतिनिधि चयनमा उहाँ लाग्नु भयो।

पहिला त धेरैको नाम आए तर अन्त्यमा सुशीला कार्कीको नाम अगाडि सारियो।

यता मैले भिमार्जुन आचार्य, विपिन अधिकारी लगायत संविधानविद्हरूसँग सल्लाह लिएँ, धारा २७६ बाहिर जानुको खतरा त छँदै थियो, तर परिस्थिति र आवश्यकता पनि हेर्नुपर्यो। आखिर सल्लाह भयो– धारा ६१ अनुसार संविधानको रक्षा गर्ने र राष्ट्रिय एकता कायम गर्ने राष्ट्रपतिको अन्तर्निर्हित दायित्व अनुसार अघि बढ्ने। मेरो अडान थियो, संविधानको प्रतिरक्षा गर्नै पर्छ। आफू मर्न सकिन्छ, तर संविधान मर्न दिने कुरा हुँदैन।

त्यसपछि मैले पार्टीका नेताहरूसँग विमर्श गरेँ, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र अन्य। शेरबहादुर देउवसँग फोनमा सम्पर्क भयो तर राम्रो कुरा हुन पाएन। त्यसपछि केपी ओलीसँग भेट गरेँ। उहाँले विषम परिस्थितिको उपयुक्त निकासको लागि शिफारिस दिनुभयो, अनि म नयाँ प्रधानमन्त्रीको नियुक्तितर्फ लागेँ। 

यसरी सबैको सहमतिलाई आधार बनाएर अघि बढ्यौँ।

मैले त सबै कुरा बुझेर विचार बनाइसकेको थिएँ। सुशिला कार्कीजीलाई मैले भनेँ, पृष्ठभूमि बनिसकेको छ, तपाईँ प्रधानमन्त्री बन्नुस्। उहाँमाथि आन्दोलनकारीको ठूलो आश र दबाब थियो। एकातिरकाहरू संसद र पार्टीहरूबारे सुन्नै नचाहने। संसद भंग गरेर मात्र प्रधानमन्त्री नियुक्ति गर्ने कुरा आयो। मैले भनेँ, संविधानले त प्रधानमन्त्रीलाई मात्र संसद बिघटनको अधिकार दिएको छ, संसद गयो भने अस्तित्वविहिन भएर बाँच्नुभन्दा त सडकमा गएर शहीद बन्छु।

जटिलता देखेर सुशीलाजीले सोध्नुभयो, अब के गर्ने? मेरो जवाफ थियो, ‘अनि अरु कसलाई बनाउने त? समस्या त बल्झिन्छ नि।’ मैले भनेँ, तपाईं प्रधानन्यायाधीश भइसकेको, निकासको कुरा तपाईंलाई पनि थाहा होला। त्यहाँ कसैले भन्यो, ‘कान यसरी समाएपनि उहि हो, उसरी समाए पनि।’ 

सुशीलाजी राजी हुनुभयो, र यसरी सेटलमेण्ट भएको हो।

सुशीला कार्कीजी प्रधानमन्त्री बन्नु भयो, फागुन २१ गते निर्वाचन गर्ने मिति सहित। यस्तो अवस्थामा नै ६ मिहनामा प्रतिनिधि सभाको निर्वाचन गर्ने सुनिश्‍चित गरी कुरा अगाडि बढ्यो, मैले सानो वक्तव्य निकालेँ। अब, संविधानमाथि अलिकति छेडखानी भएको छ भने त्यो प्रधानमन्त्री नियुक्तिको बेला मात्र हो। बाँकी संवैधानिक व्यवस्था यथावत छ। संसदको सन्दर्भमा ६ महिनाभित्र संसद जस्ताको तस्तै बनाउने हो। संविधानबाट यो भन्दा बढी दायाँ बायाँ हुन दिइनेछैन।

भोलि संविधान दिवसको कार्यक्रम हुन्छ। प्रधानमन्त्रीज्यू पनि आउनुहुन्छ। दिउँसो शीतल निवासमा कार्यक्रम छ, म केहि कुरा राख्छु।

तपाईहरू आउनु भो, मनको कुरा व्यक्त गर्नुभयो, खुसी लाग्यो। चुनाव सप्पन्न गर्न सबैको सहयोग चाहिन्छ।

१४ नागरिकको तर्फबाट
२ असोज २०८२

(राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार १४ नागरिकसँगको भेटमा राखेको धारणा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad