राजनीति


राप्रपाले भन्योः राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ

राप्रपाले भन्योः राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ

नेपालखबर
असोज २, २०८२ बिहिबार १९:३५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरूबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखे। 

उनले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे। संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको जिकीर गरे। अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उनको भनाई थियो।

राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ। राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ। सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ। 

उनले भने, ‘संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो। अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको पुस्तान्तरण हो। नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ।’

अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको दाबी गरे। उनले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए। 

आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको दाबी पनि गरे।

चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रुपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो। सबै शक्तिहरुका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने लिङदेनले बताए।

अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरूले राजीनामा दिने बताए। प्रदेश सभा खारेज भएर जानुपर्ने तर्क गरे। एउटा सरकार परिवर्तन गर्नेकुरा मात्रै आन्दोलनको उद्देश्य नभएको उनले बताए।

अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको उनको भनाई छ। अहिलेको सरकारले आँट गरेर जेनजी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad