जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो राजीनामा माग्ने पार्टीका नेताहरूलाई यस्ता कुरामा नलागी फागुन २१ को चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्।
आजै मात्र पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ नेताले राउतलाई पत्र पठाएर २४ घण्टाभित्र अध्यक्ष पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन्।
यस विषयमा अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔँ, अन्यत्र शक्ति खेर नफालौँ। पहिला निर्वाचनमा जनमत पार्टीलाई नं. १ विजयी पार्टी बनाउनेतिर लागौँ’, उनले लेखेका छन्, ‘फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबै दलहरूले मानिसकेका छन् र तयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ। हामीसँग धेरै समय छैन। मुस्किलले साढे ५ महिना समय छ। दुई-तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ। यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदै छ। त्यसैले अरूले जेजस्तो गरे पनि हामीले ध्यान नदिऔँ, त्यसको पछि लागेर, त्यो विषयमा छलफल, बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौँ।’
उनले अन्य विषयमा निर्वाचनपछि बहस गर्न आग्रह गरेका छन्।
‘निर्वाचनमा पूरा मधेस कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर हामी देखाऔँ। त्यो नै हाम्रो विजय हुनेछ’, उनले लेखेका छन्।
Shares

प्रतिक्रिया