जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पदबाट राजीनामा दिन पार्टीकै पदाधिकारीसहित नेताहरूले २४ घण्टाको अल्टिमेटम दिएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवलगायत ६ जना नेताले अध्यक्ष राउतको राजीनामा माग गरेका हुन्।
उनीहरूले राउतलाई पत्र पठाएर नेतृत्व परिवर्तनको माग गरेका छन्। 'पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनर्स्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू पार्टीको जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा जयकान्त राउतज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ' उनीहरूले लेखेको पत्रमा उल्लेख छ।
पत्रमा देशमा व्याप्त भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र सुशासनविरुद्ध भदौ २३ र २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड प्रदान गरेको पनि उल्लेख छ।
'पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको स्पष्ट देखिन्छ,' पत्रमा उल्लेख छ।
पत्रमा वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघ केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बलमे हस्ताक्षर गरेका छन्।
Shares

प्रतिक्रिया