बुधबार दिउँसो वीर अस्पतालको नयाँ सर्जिकल भवन सधैँझैँ व्यस्त देखिन्थ्यो। केही बिरामी डिस्चार्ज भइरहेका थिए भने केहीलाई भेट्न आफन्तहरू आइरहेका थिए। तर, बेड नं २०२४ को दृश्य भने फरक थियो।
बेडमा एक घाइते युवक सुतिरहेका थिए। उनको छेउमा न परिवार थियो, न साथीभाइ। मलाई उनका बारेमा केही थाहा थिएन। सुतिरहेको देख्दा एकछिन बोलाउन मन लागेन। तर, रिपोर्टिङमा गएकाले जसरी पनि कुरा गर्नु थियो। र, गाह्रो मान्दै बोलाएँ: 'भाइ, सुन्नुहोस् न!'
सायद गहिरो निद्रामा थिए, बोलाउँदा पनि ब्युँझेनन्। वरिपरिका बिरामीलाई सोधेर मैले उनको नाम पत्ता लगाएँ। उनको नाम रहेछ: युवराज।
अलि ठूलो स्वरमा नाम लिएर पुकारेपछि उनी ब्युँझिए। अपरिचित अनुहार देखेर उनी असहज भए। मैले आफूबारे बताएपछि उनी कुराकानीका लागि तयार भए।
कैलालीस्थित जानकी गाउँपालिका वडा नं ९ घर भएका युवराज उपाध्याय बालकुमारीमा बस्थे। व्यवस्थापन संकायमा स्नातक पहिलो वर्षमा अध्यनरत उनले टिकटकबाट जेनजी आन्दोलनबारे थाहा पाए। देश युवाहरूले परिवर्तन गर्नुपर्छ भन्ने उनको सोच छ। जसकारण उनी त्यसदिन जेनजी आन्दोलनमा सहभागी भए। तर, बदलामा दुइटा गोली खानुपर्यो।
गोली लागे पनि युवराज रोकिएनन्। हातमा लागेको गोली निकालेर उनी एक अन्तर्वार्तामा बोले। सो अन्तर्वार्ताबाट छोरालाई गोली लागेको कुरा गाउँसम्म फैलियो। सुनेर घरमा आमा बेहोस भइन्।
‘गोली लागेको खबर सुनेर आमा बेहोस हुनुभएछ। एक घण्टापछि होस आउँदाखेरि गाउँलेले केही भएको छैन भन्नुभयो। मैले पनि ठिकै छ भनेर आमालाई सान्त्वना दिएँ। त्यतिबेला आमाले भोलि आन्दोलनमा नजानु है भन्दै सम्झाउनुभएको थियो,’ उनले भने।
एउटा गोली निकाले पनि अर्को गोली शरीरभित्रै थियो। उनलाई ट्रमा सेन्टरमा लगेर गोली निकालियो। मिर्गौलाछेउ गोली लागेकाले विशेष हेरचार गर्नुपर्ने भएकाले नयाँ सर्जिकल भवनमा उनलाई सारियो। तर, यस्तो अवस्थामा पनि परिवार साथमा छैन।
सुदूरपश्चिमको कैलालीस्थित उनको गाउँ राजधानीबाट टाढा छ अनि दुर्गम पनि। जहाँ उनकी आमा र भाइ बस्छन्। घरपरिवारको खर्च जोहो गर्न बुवा भारतमा पसेका छन्। आर्थिक अवस्था कमजोर हुँदा उनकी आमालाई काठमाडौं आइपुग्न कठिन छ। यो कुरा युवराजले पनि बुझेका छन्।
‘यता खासै आफन्त र गाउँले छैनन्। चारपाँच दिनसम्म साथीहरू थिए। तर, उनीहरू पनि काठमाडौंमा संघर्ष गरिरहेका हुन्छन्। कलेज हुन्छ, जागिर हुन्छ। त्यसले गर्दा समय दिन सकेका छैनन्,’ उनले भने, ‘घरबाट यहाँसम्म आउनु पनि असम्भवजस्तै छ। आउनै ३०/३५ घण्टा लाग्छ। घरको अवस्था पनि कमजोर छ। सरकारले व्यवस्था गरिदिएको भए आउनुहुन्थ्यो होला। अहिले अस्पतालले नै रेखदेख गरिरहेको छ। कालको मुखबाट बाँचिसकेका छौँ। अहिलेसम्म केही अभाव छैन।’

युवराज हिँडडुल गर्न मनपराउने। तर, यसरी थला पर्दा उनलाई निकै दिक्क लागिरहेको छ। साथै मानसिक रूपमा विक्षिप्त सुनिए उनी।
‘ओछ्यानमा पल्टिरहँदा गोली खाएको छ, त्यत्रो रगत बगेको छ। म यता एक्लै छु। बाँच्छु कि बाँच्दिनँ भन्ने डर पनि लाग्दोरहेछ। पछि यसले भविष्यमा असर गर्छ कि भन्ने डर पनि लाग्दो रहेछ। घाइतेहरूको जुन मनस्थिति छ, त्यसतर्फ गम्भीर ध्यान दिन आवश्यक छ,’ युवराजले भने।
गोली खाए पनि युवराज देशले पहिलो महिला प्रधानमन्त्री पाएकोमा खुसी छन्। थोरै भए पनि देशले निकास पाएको बताउँदै नयाँ सरकारले घाइतेको बारेमा सोच्नुपर्ने उनको माग छ।
‘मचाहिँ देशमा केही गर्नुपर्छ नै भनेर बसेको मान्छे हुँ। घाइतेहरूलाई सरकारले नेपालमै रोजगारी सिर्जना गरिदिनुपर्छ। आन्दोलनमा गोली खाएर परिवर्तन ल्याइरहँदाखेरि अब आउँदो पिढीले हामीले जस्तो दु:ख नखाऊन् भन्न चाहन्छु,’ उनले भने, ‘आउँदो पुस्ताको राम्रो होस् भनेर नै हामी आन्दोलनमा गएका हौँ। किनभने म एउटा विकट ठाउँको मान्छे हुँ। मेरो घरसम्म अहिले पनि राम्रोसँग गाडी जान सक्दैन। त्यो ठाउँमा आउँदो पिढीलाई सहज होस्। राम्रो शिक्षा पाउन र भ्रष्टचारविहीन देश बनोस् भन्ने चाहना हो।’
प्रधानमन्त्री भएसँगै सुशीला कार्की घाइतेहरूलाई भेट्न अस्पतालमा पुगिरहेकी छिन्। तर, उनीकहाँ भने आएकी छैनन्।
उनी भन्छन्, ‘व्यस्त हुनुहुन्छ होला। २४ घण्टा नपुग्दै घाइतेको आमा बनेर हस्पिटलमा धाइदिनुभयो। त्यो नै ठूलो कुरा हो।’
उपचाररत युवराज छिट्टै डिस्चार्ज हुने आशामा बसेका छन्। डिस्चार्ज भएसँगै उनले दसैँमा आफ्नो गाउँ जाने सपना बुनेका छन्।
उता बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९, पाण्डुसैनका साजन रोकायाको पनि अवस्था उस्तै छ। टाढा र विकट ठाउँमा घर, त्यसमाथि बुढा आमाबुवा। आर्थिक अवस्था कमजोर हुँदा चार गोली लागेर छोरा ढल्दा समेत उनीहरू आउन सकेका छैनन्। जसकारण काठमाडौँमै भएका आफन्त र गाउँलेले साजनको हेरचाह गरिरहेका छन्।
अस्पताल पुग्दा राजेन्द्र रोकाया कुरुवाको रूपमा भेटिए। उनी साजनका गाउँले दाइ हुन्।
‘साजन गाउँले भाइ हो। उसको बुवाआमा बुढो हुनुहुन्छ। आर्थिक अवस्था पनि कमजोर छ। दाइभाइ परदेशमा छन्,’ राजेन्द्रले भने, ‘उहाँहरू छोरा भेट्न आउनुहुन्थ्यो होला। तर, यहाँसम्म पुग्न समेत पैसा छैन। बर्खाको समयमा आउनै चारपाँच दिन लाग्छ। प्लेनमा आउने पैसा छैन। घाइते भएपछि १० हजार पनि छिमेकीसँग ऋण मागेर पठाउनुभएको हो। बुवाआमा, दाइ भनेनि तिमीहरू हौ, राम्रोसँग हेरिदिनु भन्नुहुन्छ। चारपाँच जना मिलेर हेरिरहेका छौ। सरकारले भाडा फ्री गरिदिएको भए आउनुहुन्थ्यो होला।’

पेप्सीकोला बस्ने २१ वर्षीय साजन आफ्नो पुस्ताका आन्दोलन भनेपछि ११ बजे नयाँ बानेश्वर पुगे। आन्दोलन हुँदा उनले नेपालको झण्डा भिरेका थिए। १ बजेतिर उनको आँखैअगाडि दुईतीन साथीहरू गोली लागेर ढले। र, त्यतिबेलै प्रहरीले ताक्दै साजनलाई गोली हान्यो।
‘गोली लागेर बेहोस भएपछि एभरेस्ट अस्पताल लगिएको रहेछ। त्यसपछि यहाँ रिफर गरियो। एक किसिमको उपचार भएपछि ज्यान त बाँच्यो। तर, एउटा रबर र दुईवटा धातुको गोली भित्रै छन्, निकालिएको छैन। स्वास्थ्यको सबै अवस्था हेरेर अप्रेसन गर्ने कुरा छ,’ उनले भने।
बेडमा पल्टिरहेका साजन आफ्नो भविष्यबारे चिन्तित छन्। परिवर्तनको लागि ज्यान दाउमा राखेको बताउँदै उनले नयाँ सरकारले देशमै बस्ने वातावरण बनाउनुपर्ने माग राखे।
राजेन्द्रका अनुसार सरकारले उपचार निशुल्क गरिरहेको छ। तर, हजारभन्दा बढीको औषधि भने बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको सुनाए। जसकारण केही औषधिका लागि पैसा जुटाउन गाह्रो भइरहेको उनको भनाइ छ।
साथै प्रधानमन्त्री र जेन-जीका अगुवाहरू भेट्न नआएकोमा उनले गुनासो गरे।
‘प्रधानमन्त्रीज्यू सिभिल र ट्रमामा आउनुभयो। तर, यहाँ चारवटा गोली खाएको मान्छेलाई भेट्न आउनुभएन। जेनजी पनि कोही आएनन्। आशिका तामाङ भने आउनुभयो,’ उनले भने।
Shares

प्रतिक्रिया