नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जुन विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो, सो विषय राष्ट्रपतिबाट पारित भइसकेपछि छलफलको अर्थ नरहेको बताएका छन्।
सोमबार साँझ नेकपा सचिवालयको बैठकपछि पत्रकारलाई निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले पार्टी बैठकमा सरकारले प्रस्तुत गरेका दुई वटा अध्यादेशबारे गम्भीर छलफल भएको बताए। तर, अध्यादेशबारे छलफल भइरहँदा राष्ट्रपतिबाट सो अध्यादेश जारीसमेत भइसकेको जानकारी आएकाले छलफलको खासै अर्थ नरहेको बताए।
मन्त्रिपरिषदले सोमबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो। ती दुवै प्रस्ताव आजै राष्ट्रपतिले प्रमाणिकरण गरेकी छन्।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको र तत्पश्चात् अरू सदस्यहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ आफ्फ्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए।
‘छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो’ उनले भने, त्यसपछि यो विषयमा थप छलफल गर्नुको खासै अर्थ रहेन।’

प्रतिक्रिया