मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताभएका हुन्।
‘अब जेनजी पुस्ताको मागहरूअनुसार सरकार बनोस्, नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ,’ उनले भने।
अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत दाबी गरे।
राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको उनको भनाइ छ।
उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको जानकारी पनि दिए।
प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए।
उनले भने, ‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौं। अत्यावश्यक-आवश्यक सेवाहरू खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि हामीले तद्तत् निकायहरूलाई निर्देशन दिइसकेका छौं। हिजो र अस्ति मन्त्रालयका सचिवहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ।’
Shares

प्रतिक्रिया