कारोबार


जेनजी प्रदर्शनमा होटल : हिल्टनमा मात्रै ८ अर्बको क्षति, कुल २५ अर्बको नोक्सान भएको प्रारम्भिक अनुमान

जेनजी प्रदर्शनमा होटल : हिल्टनमा मात्रै ८ अर्बको क्षति, कुल २५ अर्बको नोक्सान भएको प्रारम्भिक अनुमान

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १२:१०, काठमाडौँ

होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ।

संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको हानले जनाएको हो।

होटल र प्रतिष्ठानमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति समेत गरी देशैभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।

यसबाट प्रभावित सदस्य होटलहरु मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल सञ्चालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नुपर्ने बैंक–वित्तीय संस्थालगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको छ।

सुशासन विकास र जनताले खोजेको मुलभूत परिवर्तनका लागि दर्जनौं नव युवाहरुले जीवन बलिदान गरेका र सयौं घाइते महान् योद्धाहरुको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालीन हालको अवस्थामा सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ हुनुपर्ने हानको माग छ। 

विज्ञप्तिमा भनिएको छ, ‘अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मत संभार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपाल जोडदार माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad