राजनीति


संसद अहिले पनि चालु छ, संविधानभित्रबाटै समस्याको समाधान खोज्नुपर्छ : नेपाल बार

संसद अहिले पनि चालु छ, संविधानभित्रबाटै समस्याको समाधान खोज्नुपर्छ : नेपाल बार

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १४:५४, काठमाडौँ

कानुन व्यवसायीहरूले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरूको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन्। 

नेपाल बार एसोसिएसनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानुन व्यवसायीहरूले यस्तो बताएका हुन्। उनीहरूले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए। संवैधानिक संकटको अवस्थामा निकास दिन कानुन व्यवसायीहरूले पहल गर्नुपर्ने बताए। 

सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको जिकिर गरे। संसदका सदस्यहरूबाट नै जेनजी पुस्ताले रुचाएको व्यक्ति छन् भने त्यो व्यक्तिलाई अघि सारेर जानुपर्ने कानुन व्यवसायी अशोक पोखरेलले बताए। उनले बारले संविधान मिचिने काम भए खबरदारी गर्नुपर्ने बताए।

पूर्वकानुनमन्त्री एवं कानून व्यवसायी गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्न सुझाव दिए। उनले जेन जी मुभमेन्ट किन आयो र यसको रुट कजहरु केके हो भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताए। केही मानिसहरुको कुरा सुन्न नै जेन जी पुस्ता तयार नरहेको देखिएको बताए।

संविधान सुधार गर्ने, संशोधन गर्ने र अहिलेको संविधानबाट नै समाधान खोज्नेतर्फ जानुपर्ने सुझाव दिए। नेपाल बारले आफ्नो समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए। प्रतिनिधि सभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बनाइनुपर्ने, मन्त्रीहरु बाहिरको भएपनि हुने माग आफ्नो रहेको बताए। प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गर्नुपर्ने बताए।

चुनावी सरकार अविलम्व गठन गर्न पनि माग गरे। कानून व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभूत स्ट्याण्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताए।

उनले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताए। अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए। संविधान अक्षुण्ड रहनुपर्ने बताए। कानून व्यवसायी लिलामणि श्रेष्ठले संविधानभित्रैबाट विकल्प खोजिनुपर्ने बताए।

पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रैबाट विकल्प खोज्नुपर्ने बताए। जेन जी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरु दिनुपर्ने बताए।

कानुन व्यवसायी बाबुराजा जोशीले जेन जीको आन्दोलन संविधान विरोधी आन्दोलन नभएको बताए। संविधानको धारा ७६९३० बाट बन्न नसक्ने भए संसदभित्रैबाट मन्त्रिमण्डल गठन हुनुपर्ने बताए। तीन वटा बेन्च भएपनि शुरु गरेर न्यायपालिकाले आफ्नो काम शुरु गर्नुपर्ने बताए।

कानुन व्यवसायी ताराकुमार श्रेष्ठले न्यायको प्रक्रिया अघि बढेको प्रत्याभूति दिन जरुरी रहेको बताए। जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको कुरा नेपाल बारले बिर्सिन नहुने बताए। जेन जीको भावना सम्बोधन हुनेगरी विज्ञप्ती जारी गर्न जरुरी रहेको बताए।

कानुन व्यवसायी पुरुषोत्तम अधिकारीले आवश्यक परे कानुन व्यवसायीहरु सडकमा आउन तयार रहेको सन्देश दिनुपर्ने बताए। कानुन व्यवसायी कपिलचन्द्र पोखरेलले नेपाल बारको भूमिका प्रभावकारी देखिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad