राजनीति


वार्तामा बस्नुअघि जेनजीका तीन सर्त, प्रधानसेनापतिको जवाफ–रास्वपा र राप्रपाको पनि सुझाव लिनू

वार्तामा बस्नुअघि जेनजीका तीन सर्त, प्रधानसेनापतिको जवाफ–रास्वपा र राप्रपाको पनि सुझाव लिनू

सागर न्यौपाने
भदौ २५, २०८२ बुधबार १६:२५, काठमाडौँ

प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्।

वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्।

मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए।

छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन कुरा प्रष्टसँग भनिएको छ।

त्यसमा उनले प्रष्ट जवाफ त दिएका छैनन् तर केही समय लिन र रास्वपा, राजावादी समूहको कुरा पनि सुन्न भनेका छन्। 

‘हामी यही संविधान मान्छौँ, यसको निकास यहीँबाट निकाल्नुपर्छ भनेर भन्यौँ,’ बमले नेपालखबरसँग भनिन्, ‘आजलाई प्रारम्भिक छलफल भयो। हामी किन आर्मीसँग मात्र वार्ता गर्छौँ? यो बेलासम्म हामीले संविधान मानेका छौँ। भोलिका दिनमा के हुन्छ? थाहा छैन। हाम्रो राष्ट्रको अभिभावक राष्ट्रपतिसँग वार्ता गर्छाैँ। हाम्रा साथीहरू सरकार पक्षबाट मारिएयो। सरकारले स्वामित्व लिनुपर्‍यो, जति मारिए। उनीहरूको जिम्मा त राज्य लिनुपर्छ नि। आर्मीले सहजीकरण मात्र गरिदेओस्।’ 

त्यसको जवाफमा प्रधानसेनापति सिग्देलले राप्रपालगायत राजावादी तत्व, रास्वपादेखि सबैसँग संवाद गर्न सुझाव दिएको उनले बताइन। 

‘सहजीकरण गर्नुस्, उहाँहरूको विचार र सुझाव पनि लिन संवाद गर्नुहोस्,’ सिग्देलको भनाइ थियो।

उनका अनुसार सो छलफलमा उपस्थित भएका १० जना जेनजीले एकै स्वरमा जुनसुकै राजनीतिक पार्टीका मान्छे राखेर वार्ता नगर्ने अडान लिए।

त्यही भएर हिजोको र आजको छलफलमा कुनै माग प्रस्तुत नगरेको उनले दाबी गरिन्। 

‘हामीले देशमा शान्ति सुरक्षा कायम होस्, मृतकप्रतिको सम्मान र घाइतेको उपचार होस् मात्र भन्यौँ र निस्कियौँ,’ उनले थपिन्। 

अब कसरी जाने त भनेर प्रधानसेनापतिले सोध्दा समय चाहिन्छ भनेर जवाफ दिएको उनी बताउँछिन्। 

‘अहिले नै वार्ता टोलीमा रहने नाम दिन सक्तैनौँ। किनकि, देशका ७७ वटै जिल्लाका जेनजी प्रतिनिधिसँग कुरा गरेर मात्र नाम तय गछौैँ, त्यसका लागि तीन दिनको समय चाहिन्छ,’ उनले भनिन्, ‘यस्तै, रास्वपा, राप्रपा लगायतका कुनै पनि दलका प्रतिनिधि राखेर गरिएको वार्ता स्वीकार्य हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad