राजनीति


एमाले विधान महाधिवेशन: समूह छलफलमा विद्याको सदस्यताबारे प्रतिनिधिले के भने?

एमाले विधान महाधिवेशन: समूह छलफलमा विद्याको सदस्यताबारे प्रतिनिधिले के भने?

नेपालखबर
भदौ २१, २०८२ शनिबार १८:५५, काठमाडौँ

नेकपा एमालेको जारी विधान महाधिवेशनमा एउटा विषय पेचिलो बनेको छ। विषय हो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने कि नगर्ने? एमालेको सक्रिय राजनीतिमा फर्किसकेकी उनलाई सदस्यता दिन हुँदैन भनेर अध्यक्ष केपी ओलीसहितका नेताहरूले स्पष्ट सन्देश दिइसकेका छन्। तर, केही शीर्ष नेता र प्रतिनिधिले उनलाई सदस्यता प्रदान गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने तर्क गरेका छन्।  

समूहगत छलफलमा सहभागी एक नेताका अनुसार सबै समूहमा विद्याको सदस्यताबारे कुरा उठेको थियो।  सबैभन्दा धेरै सुदूरपश्चिमका प्रतिनिधिले विद्यालाई सदस्यता प्रदान गरेर जानुपर्ने बताएको उनको भनाइ छ। 

'सुदूरपश्चिमबाट ४९ जनाले बोलेको थिए। एक जना डोटीका लक्ष्मण मरासिनीले मात्रै पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउनुहुँदैन भनेर भन्नुभयो,' उनले भने, 'उहाँ (विद्या) राजनीतिमा आउनुपर्छ। सदस्यता नवकरण गर्न दिनुपर्छ भनेर झपट रावल र मोती विकहरूले यो विषलाई त्यहाँ महत्त्वका साथ उठाउनुभयो।' 

यता बागमतीमा स्थायी कमिटी सदस्य सीता पौडेल, अरुण नेपाल, सर्मीला कार्की, टंक कार्की, सविता न्यौपाने, काठमाडौँका अध्यक्ष दीपक निरौला, नुवाकोटका नारायण खतिवडा, उद्धव भण्डारी, विदुर खड्का, हरि खड्का लगायतले भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्ने बताएको उनको भनाइ छ। यो समूहमा रामेश्वर फुयाल, मदुसूदन पौडेललगायतले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुहुँदैन भनेर बताएको उनले बताए। 

सल्लाहकार र आयोजक भनेर विभाजन गरिएको विभागमा विद्या राजनीतिमा फर्किनुपर्छ र फर्किनुहुँदैन भनेर भन्नेको संख्या बराबर जस्तै रहको ति नेताको भनाइ छ। 'यो समूहमा आधा जस्तोले राजनीतिमा उहाँ आउनुपर्छ भन्नु भएछ। आधाले आउनै हुँदैन भन्नुभएछ,' उनले भने, 'सो समूहमा १९२ जना हुनुहुन्थ्यो। विनोद ढकाल, कृष्ण दाहालहरूले सदस्यता नवीकरण गरेर राजनीतिमा फर्काउनुपर्छ भन्नु भयो।'

जनसम्पर्क प्रवास तथा जनसंगठनको समूहमा लेखा आयोगका सचिव विष्णुबहादुर राउतले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने बताए। यो समूहको नेतृत्त्व गरेका लालबाबु पण्डितले विद्याको पक्षमा बोल्ने नेताहरूलाई लिखित दिन आग्रह गरेपछि केही नेताले लिखित पनि सुझाव दिएको उनको भनाइ छ। 

कोसी प्रदेशको समूहमा ३०० जना प्रतिनिधि सदस्य रहे पनि ४८ जनामात्रै समूहगत छलफलमा बोलेका थिए। ती मध्ये तारा राई, युवराज बाँस्कोटालगायतले नवीकरण गर्नुपर्नेमा जोड दिए। त्यस्तै झापाका अध्यक्ष प्रेम गिरी, राजकुमार ओझा, विमला दाहाल घिमिरेसहितले भने नवीकरण गर्न नहुनेमा जोड दिए।  

गण्डकीको समूहमा नेता खगराज अधिकारीले पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन नदिने विषय विधानमै लेख्नुपर्ने बताएको उनको भनाइ छ। त्यस्तै मधेसको समूहमा २२ जनाले मात्रै बोलेको र अरविन्द सिंह, पुरुषोत्तम पौडेलसहितले भण्डारी पार्टी राजनीतिमा फर्किनुपर्छ भने पनि अन्य केहीले फर्किन नहुने बताएका थिए भने केहीले स्थानीय मुद्दा केन्द्रित विषय राखेका थिए।  

लुम्बिनीको समूहमा रोल्पाका पूर्वअध्यक्ष शान्तराज ओलीले भण्डारीलाई पार्टी राजनीतिमा आउन दिनुपर्ने बताए। बर्दियाकी विमला विकले भने सम्मानीत पदमा पुगिसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा आउन नहुने बताइन्। 'यो समूहका धेरै नेताले आउन पर्छ र पर्दैन भनेर बोलेनन्,' ती नेताले भने, 'यहाँ अन्तिम समयसम्म पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले दबाब दिएका थिए।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad