राजनीति


कर्ण थापालाई फरक मत प्रस्तुत गर्न ओलीले रोके, आधा घण्टा उभिइरहे

कर्ण थापालाई फरक मत प्रस्तुत गर्न ओलीले रोके, आधा घण्टा उभिइरहे

सागर न्यौपाने
भदौ २१, २०८२ शनिबार ११:४७, काठमाडौँ

जारी विधान महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्न रोकेका छन्।

विधान महाधिवेशनको दोस्रो दिनको बैठक सुरु भएपछि थापा ३२ पृष्ठको फरक मत प्रस्तुत गर्न उठेका थिए। तर, उनलाई ओलीले रोकेका हुन्। 

ओलीले ‘अहिले हामीसँग समय छैन, ग्रुप डिस्कसनमा जाऊँ’ भन्दै थापालाई फरक मत प्रस्तुत गर्न नदिएका हुन्। 

त्यसपछि थापाले आफ्नो फरक मतका प्रति प्रतिनिधिलाई वितरण गरेका छन्।

‘उहाँले समूह-समूहमा फरक मत बाँड्नुभयो तर, प्रस्तुत गर्न अध्यक्षले दिनुभएन’, एक नेताले नेपालखबरसँग भने, ‘अहिले समय छैन, यदि बेलुका भयो वा भोलिसम्म भयो भने गरौंला । तपाईं, हाम्रो कुरा पनि खासै फरक छैन। त्यस्तो नयाँ कुरा पनि केही देखिएन, त्यही भएर यसलाई पछि छलफल गरौँला। अहिलेलाई ग्रुप डिस्कसनमा जाऊँ। समय हामीसँग छैन। त्यति भनेर ओलीले नौ ग्रुप घोषणा गरेर प्रतिवेदनमाथि छलफल गर्न पठाए।’

ती नेताका अनुसार स्थायी कमिटी सदस्य थापा बन्दसत्रमा झन्डै आधा घन्टा उभिएर बोल्न दिन आग्रह गरे तर ओलीले दिँदै दिएनन्। 

बिहीबार बसेको सचिवालय बैठकमा दर्ता गराएको थापाको फरक मतमा पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्नु गैरकानुनी भएको जिकिर गर्दै उनलाई पार्टीको जिम्मेवारी दिनुपर्ने माग गरेका छन्।

त्यसमा स्थायी कमिटी सदस्य थापाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको उल्लेख गर्दै पार्टीले नै अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र अभ्यासविपरीत मात्र नभएर लोकतन्त्रका विश्वव्यापी मान्यता र नेपालको संविधानकै प्रतिकूल रहेको जिकिर गरेका छन्। 

२०८२ साल असार १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भएको र उनी फेरि पार्टीको सदस्य भइसकेको भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरेको दाबी पनि थापाले आफ्नो फरक मतमा गरेका छन्। 

थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्। 

उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्ष भई सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गरिरहनुभएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन। प्रत्युत्पादक हुनसक्छ। यी सबै परिस्थितिको मूल्यांकन गरेर विधानबमोजिम नवीकरण भइसकेको सदस्यता स्वीकार गरी उहाँलाई ससम्मान पार्टीको जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो मत यस सम्मानित दोस्रो विधान महाधिवेशनसमक्ष स्वीकृतिका लागि प्रस्तुत गर्दछु।’

विद्या भण्डारीबारे यस्तो छ, कर्ण थापाको फरक मत:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad