राजनीति


विद्याको भिडिओ सन्देश: चिठी अध्ययन गरेर सुझाव दिनुस्, म तपाईँहरूसँगै छु

विद्याको भिडिओ सन्देश: चिठी अध्ययन गरेर सुझाव दिनुस्, म तपाईँहरूसँगै छु

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १९:७, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन नेकपा एमालेका विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आग्रह गरेकी छन्। 

शुक्रबारबाट ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन्।  

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो।

'जुन उद्देश्यले यहाँहरू काठमाडौँ आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस्। म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ। तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ,' उनले भनिन्, 'त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ। तथापि हाम्रो उद्देश्य एउटै हो। हामी सधैँ सँगै नै छौँ। यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु।'

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेन्डा पनि बन्न नसक्ने बताएको थियो।

पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडिओ सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गरिन्। 

एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताइन्। विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरिन्। एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन्।
 
'मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु। यहाँहरूले अध्ययन गर्नुभएकै होला। यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ। त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस्। म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad