संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भइसकेपछि रास्वपाले आपत्ति जनाएको छ।
बिहीबार मनोनयनको समयसम्म खतिवडा एक्लैको उम्मेदवारी परेपछि उनी आज निर्विरोध घोषणा भएका हुन्।
उम्मेदवारी दिएर उनलाई चुनौती नदिएको रास्वपाले अहिले उनी निर्विरोध भइसकेपछि प्रश्न उठाएको हो।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विज्ञप्ति जारी गरी खतिवडामाथि प्रश्न उठाएका छन्।
खतिवडा यसअघि प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति थिए। उनी संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था हटाएको विषयमा विवादित बनेका थिए।
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि निर्विरोध
त्यसपछि बनेको संसदीय छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेपछि पदबाट राजीनामा दिएका थिए। रास्वपाले यसै विषयलाई उठाउँदै आचरणमा प्रश्न गरेको छ।
'जनताको सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रुपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसदकै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ' श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संसदीय समितिलाई जनताले विश्वास गर्ने संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहोदाको जिम्मेवारी दिन नहुने रास्वपाको भनाइ छ।
'विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुऱ्याएको अवस्था छ' विज्ञप्तिमा उल्लेख छ।

Shares

प्रतिक्रिया