स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन्।
मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्राडा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याए। मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ।
उनले काठमाडौंको बूढानीलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए। बूढालीनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया सुरु भइसकेको उनले बताए।
उनले भने, ‘खासगरि अहिले चाहिँ हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बूढालीनकण्ठ वडा नम्बर ४ मा चाहिँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया सुरु भएको छ। यसको डीपीआर पनि हामीलाई उपलब्ध छ। त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शिर्षक उल्लेख गरेको स्थिति छ।’
मन्त्री पौडेलले अटिजम स्कुल सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने स्पष्ट पारे।
उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताए।
Shares

प्रतिक्रिया