राजनीति


‘संसदमा म’मा जीवन परियार : संविधानसभामा पुगेपछि राजनीतिक यात्राले नयाँ मोड लियो (भिडिओ)


अनिल यादव
भदौ १७ , काठमाडौँ

विद्यालयको आँगनदेखि संविधानसभाको बैठक कक्षसम्म, संविधान निर्माणदेखि दलित हक सुनिश्चित गर्ने प्रावधानसम्म, अहिले संसददेखि पार्टीको सह–महामन्त्रीसम्म, जीवन परियारको जीवन यात्रा असाधारण छ। 

०७० मा संविधानसभा सदस्य र ०७९ मा प्रतिनिधिसभा सदस्य भएका परियार संविधान निर्माण, संसदको अनुभव र दलित अधिकारका पक्षमा निरन्तर लडिरहेका अग्रपंक्तिका नेता हुन्। 

कास्की जिल्लाको रूपा गाउँपालिका–१ (साबिक थुम्की–३) मा जन्मिएका उनी गाउँकै विद्यालयमा पाँच कक्षासम्म पढे। पछि लमजुङको ईशानेश्वर प्रमोद माध्यमिक विद्यालयबाट एसएलसी पास गरे। ०४६ सालको जनआन्दोलनले देशभर आन्दोलन चर्किरहँदा उनी कक्षा ८ मा थिए। त्यही बेला विद्यार्थी आन्दोलनमार्फत राजनीतिको फेरो समाते।

पृथ्वीनारायण क्याम्पसमा अध्ययनका दिनदेखि नै उनी नेविसंघमा सक्रिय रहे। ०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेसँगै उनको राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गर्‍यो। 

यसपटक नेपालखबरको ‘संसदमा म’ कार्यक्रममा आफ्नो राजनीतिक यात्रा र संसदीय अनुभूति सुनाउन आइपुगेका परियार थोरै भावुक पनि भए। उनको अनुभवमा, संसद् जस्तो गरिमामय थलोभित्र पनि लिंग, जात वा क्षेत्रका आधारमा सांसदहरूमाथि प्रत्यक्ष वा परोक्ष रूपमा विभेद हुने गरेको तितो यथार्थ लुकेको छैन।

‘जातका आधारमा, लिंगका आधारमा, क्षेत्रका आधारमा कतिपयले अपमानजनक अथवा विभेदकारी शब्दावलीहरू प्रयोग गर्नेदेखि लिएर कतिपयले सांकेतिक रूपमा पनि त्यस्ता किसिमका विभेदका कुराहरू गरेको पनि हामी सुन्छौँ,’ परियारले संसदभित्रको विभेदकारी यथार्थ खुलाउँदै भने, ‘कसैका अगाडि नभने पनि पछाडि कुरा काट्ने काम पनि हुन्छ नै। दलित सांसदको बारेमा केही कुरा भन्नुपर्ने छ भने गैर–दलित सांसदहरू मात्रै भेला भएको ठाउँमा त्यस्ता कुराहरू गर्छन्।’

जीवनलाई लाग्छ, यस्ता घटनाक्रमहरू संसदीय परिधिभित्र देखिने गरेको र यसले संसदको गरिमामाथि नै प्रश्न उठिरहेको छ। 

उनी भन्छन्, ‘गरिमामय संसदमा आएका सांसदहरूले पनि विवेक पुर्‍याउन नसक्नु विडम्बना हो,’ उनले भने।  

०७० सालमा संविधानसभामा पुगेपछि परियार संविधान मस्यौदा समितिको सदस्य बनेका थिए। कानुनका विद्यार्थी भएकाले त्यहीबेला संविधान निर्माण प्रक्रियामा सक्रिय हुने उनको इच्छा पूरा भयो। दलित समुदायको प्रतिनिधित्व गर्दै उनले धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक, धारा ४० मा दलितको हक, र धारा २५५ मा राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोगको मान्यता दिने प्रावधान ल्याउन योगदान थिए। 

आज उनी गर्वका साथ भन्छन्, ‘मैले आफ्नो समुदायको पीडा संविधानमा लेख्न सफल भएँ, यो मेरो जीवनकै गौरव हो।’

संविधान जारी भएपछि उनी व्यवस्थापिका संसदमा पुगे। त्यहाँ उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिको संयोजक भएर शिक्षा, स्वास्थ्य, महिला र खेलकुद क्षेत्रका विषयमा काम गरे। उनले ल्याएको एउटा ऐतिहासिक संशोधन हो— प्रत्येक वडामा दुई महिला निर्वाचित हुने व्यवस्थामध्ये एकजना अनिवार्य दलित महिला हुनुपर्ने प्रावधान। यसले हजारौँ दलित महिलालाई नेतृत्वमा पुर्‍याएको उनी बताउँछन्। 

त्यसो त ०७४ मा पनि उनी चुनाव नलडेका होइनन्।  प्रदेश सभाबाट चुनाव लडे तर वाम गठबन्धनका कारण थोरै मतले पराजित भए। चार वर्षसम्म पार्टी नेतृत्वमा रहँदै उनले निरन्तर योगदान दिए। 

०७९ सालको निर्वाचनमा भने समानुपातिक तर्फबाट प्रतिनिधिसभामा प्रवेश गरे। अहिले उनी कानुन, न्याय तथा मानव अधिकार समिति र संसदीय सुनुवाइ समितिमा सदस्य छन्। 

आज उनी नेपाली कांग्रेसका सहमहामन्त्री छन्। सम्भवतः हाल नेपालको ठूलो राजनीतिक दलको ठूला पदमा रहेका दलित नेता नै उनै हुन्। यो हैसियतमा उनलाई लाखौँ दलित समुदाय र आम नेपाली जनताको अपेक्षा छ। उनी संविधानमा लेखिएका अधिकारलाई व्यवहारमा लागू गराउने, बाँकी कानुन पारित गराउने र सरकारलाई अझ जवाफदेही बनाउने आफ्नो प्राथमिकता भएको बताउँछन्। 

परियारको अठोट छ– अब पार्टीलाई बलियो बनाउन अग्रज नेताहरू—बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको बाटोलाई आत्मसात् गर्दै अघि बढ्ने। 

‘सांसदहरूको मूल जिम्मेवारी कानुन निर्माण नै हो। तर, अहिले संसदमा जुन गतिमा कानुन निर्माण भइरहेको छ, त्यो हिजोजसरी छैन। अहिले जस्तो छ, त्यो चाहिँ चित्तबुझ्दो भएन,’ परियार भन्छन्। 

हेर्नुहोस् ‘संसदमा म’ जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाटः

फोटो/भिडिओ : विशाल कार्की

भदौ १६, २०८२ सोमबार १९:४९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad