राजनीति


नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्यान्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्यान्डको बाङ्सेन रनमा अवसर

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १८:४०, काठमाडौँ

नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन्। 

नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गरे सँगै १० नाइट रनका बिजेताले बाङ्सेन रनमा सहभागिता जनाउने पक्का भएको हो। 

नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ।

‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियललगायतलाई सिक्ने अवसर मिल्नेछ,' धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, छिमेकी देशमै विश्वस्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिनेतर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई बिशेष धन्यवाद दिन चाहन्छु।’  

बाङसेनको सिफारिसमा थाइल्याण्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौं २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइने छ। यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन्। 

समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछ। बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन्। 

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन हरेक असोज ३ गते संविधान दिवसका अवसरमा हुने गर्दछ। 

बाङ्सेनसँगको साझेदारीपछि नेपालगन्ज म्याराथनका विजेता सहभागी हुने अन्तराष्ट्रिय दौडको संख्या बढेको छ। यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लण्डन म्याराथनमा विगत दुई बर्षदेखि अवसर दिँदै आएको छ। 

यसबर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ। त्यस्तै, यसबर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ। 

नेपालगन्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट बार्षिक रुपमा नियमित आयोजना भइरहेका छन्। यसमा गौघाट ग्रीन रन असोज २८ गते, राप्तीसोनारी नेचर रन कात्तिक १ गते सन्चालन गर्ने तयारी आयोजकले गरेको छ। 

त्यसैगरी धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार 'नोभेम्बर तेस्रो साताको शनिबार' हुँदैछ भने त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ। 

त्यस्तै कर्णाली हाफ म्याराथन मंसिर अन्तिम शनिबार, काठमाडौं २५के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ। एम्सको दुई वटा पूर्णकालीन सदस्यता लिने नेपालगन्ज नेपालको एकमात्र सहर हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad