प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा गरिरहेको अवरोध हटाउन सरकारको तर्फबाट संवाद नभएको भन्दै ध्यानाकर्षण गराएका छन्।
शुक्रबारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनले यसबारे ध्यानाकर्षण गराएका हुन्।
'भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ,' उनले भने, 'यसका बाबजुत पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु। तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु।'
यस्तो छ सभामुख घिमिरेको भनाइ
भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका लागि म आफैंले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ। यसका बाबजुत पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु। तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु।
यसरी बैठक सुरू हुनासाथ "असहमति प्रदर्शन" गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक सावित हुनसक्छ। हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ। संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन; राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो।
अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौं। यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ। समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु।आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ। सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु।
म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै माननीय सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु।
Shares

प्रतिक्रिया