राजनीति


२०४६ पछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगे, तर उपचारमा सन्तुष्ट हुने ठाउँ छैनः पूर्वराष्ट्रपति यादव

२०४६ पछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगे, तर उपचारमा सन्तुष्ट हुने ठाउँ छैनः पूर्वराष्ट्रपति यादव

फाइल फोटो


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १७:२३, काठमाडौँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताएका छन्। 

काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा एक निजी अस्पतालको शुभारम्भ गर्दै उनले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताएका हुन्।

पूर्वराष्ट्रपति डा यादवले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताए। 

‘विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिलेपनि सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने। 

उनले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अस्पताललाई व्यवसायिक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पुर्‍याउन नसकिएको बताए। उनले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गरे।

नेता केसीले दिनप्रतिदिन दक्ष चिकित्सक विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गरे। कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताए।

काठमाडौँ क्षेत्र नं ६ प्रदेख (ख)का सांसद इ. अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहरा, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले अस्पतालले तारकेश्वरबासीलाई विशेष सहुलियत दिएर उपचार गराउन आग्रह गरेका थिए।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका बिरामी आर्थिक अभावका कारण फर्कनुनपर्ने बताए। रु १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका–१० मा सञ्चालित उक्त अस्पताल हाल २४ शय्यामा सञ्चालनमा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad