राजनीति


भण्डारीले अध्यक्ष उठ्दा जित्नुहुन्न, अनि भीम रावललाई झैँ कारबाहीमा जानुपर्ने हुन्छ : ओली

भण्डारीले अध्यक्ष उठ्दा जित्नुहुन्न, अनि भीम रावललाई झैँ कारबाहीमा जानुपर्ने हुन्छ : ओली

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ११:५४, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा आएर अध्यक्ष उठ्दा नजित्ने दाबी गरेका छन्। 

बुधबार एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलमा उनले यस्तो बताएका हुन्। 

‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न,’ प्रधानमन्त्रीको सचिवालयले उक्त छलफलमा भएको कुराबारे स्पष्ट पार्न जारी गरेको नोटमा ओलीको भनाइ उद्धत गर्दै भनिएको छ, ‘नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ।’

उनले पार्टी अध्यक्षमा हारेपछि पार्टीको विरोधमा लाग्ने र भीम रावलाई झैँ कारबाहीमा जानुपर्ने स्थिति आउने बताएका छन्। ‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ, हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ,’ ओलीले भनेका छन्, ‘त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाही जानुपर्ने हुन्छ।’

त्यसखालको अवस्था नओस् भनेर नै आफूले सम्मानजनक हैसियत बस्न र राजनीतिमा नआउन पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिएको बताएका थिए।

‘त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ,’ ओलीले भनेका थिए,  ‘तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ। उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन।’

पूर्वराष्ट्रपति भण्डारीले मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेको गुनासो समेत ओलीले गरेका छन्। भण्डारीका यस्ता गतिविधिले पार्टी एकतामा सहयोग नपुग्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीले सदस्यता नदिने निर्णय गरेको समेत जिकिर गरेका छन्।

‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत्रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो,’ ओलीले भने, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad