राजनीति


केपी ओलीले विद्या भण्डारी एमाले अध्यक्ष हुन पाउँछिन् भनेको पुरानो भिडिओ भाइरल

केपी ओलीले विद्या भण्डारी एमाले अध्यक्ष हुन पाउँछिन् भनेको पुरानो भिडिओ भाइरल

एमालेको नेतृत्व लिने चर्चा बढेपछि अध्यक्ष ओलीले विद्या भण्डारीलाई हालै पार्टी कार्यालयमा भेट्न बोलाएका बेलाको तस्बिर।


नेपालखबर
भदौ ११, २०८२ बुधबार ९:५६, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा बोलिरहेको एउटा पुरानो अन्तर्वार्ताको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। 

जसमा ओली भनिरहेका छन्, ‘उहाँ (विद्या भण्डारी) पोल्टिक्समा आउनु हुँदैन भन्ने बेकारको कुरा हो...कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन...पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ। अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ।...’

तर अहिले उनै ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको र गर्न नपाइने निर्णय गराउँदै एमालेमा आउने ढोका नै बन्द गराइसकेका छन्। 

यसैकारण उनको त्यो पुरानो भनाइको भिडिओ सामाजिक सञ्जालमा भाइरल पारिएको हो। 

त्यो अन्तर्वार्ता २०८० असोजमा पत्रकार ऋषि धमलाले लिएका हुन्। एक घण्टा २८ मिनेट ५५ सेकेन्डको उक्त अन्तर्वार्ता दिँदा ओली प्रधानमन्त्री थिएनन्। अर्थात् एमालेको अध्यक्ष मात्र थिए। 

त्यस अन्तर्वार्तामा ओलीले विद्याबारे यसो भनेका छन्:

ऋषि धमला : विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गर्ने चर्चा पनि चलेको छ, तपाईं के भन्नुहुन्छ?

ओली : उहाँ (विद्यादेवी भण्डारी) को खुसीको कुरा हो त्यो। हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुस् भन्छौँ। या सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् भन्छौँ। हुनु हुँदैन भन्ने बेकारको कुरा हो यो। पोल्टिक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो।

धमला : त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटमलाइन होइन? 

ओली : कसरी बटमलाइन हुन्छ? उहाँको खुसीको कुरा हो। राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन।

धमला : पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ?

ओली : पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ। अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। अर्को कुन पार्टी कसको के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ। समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ। त्यो त उसको व्यक्तिगत कुरा भयो। उसको च्वाइसको कुरा भयो।

राष्ट्रपति भएका बेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ भन्ने मात्र हो। राष्ट्रपति नभएका बेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुनसक्छ। राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउनसक्छ। विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन्। अमेरिकामा सेरेमोनियल भन्ने कुनै ढोँग छैन। राष्ट्रपति सर्वोच्च कार्यकारी हुन्छ। यहाँ ब्रिटिस सिस्टमअन्तर्गत संवैधानिक राजतन्त्र र राष्ट्रपति हुँदा सेरेमोनियल राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री बन्ने ब्रिटिस पार्लियामेन्टको नक्कल गरेर, संवैधानिक राजतन्त्रको नक्कल गरेर, सेरेमोनियल मोनार्कीको नक्कल गरेर सेरेमोनियल राष्ट्रपति बनाउने (गणतन्त्रमा पनि) त्यो उचित होइन। त्यो तरिका होइन।

राष्ट्रपति भनेपछि कार्यकारी हुँदैन भन्ने कुरा होइन। राजा भनेको सामन्तवादको प्रतीक हो। जनताले त्योसँग सम्झौता गरेर सेरेमोनियल बनाएर आफूले शासन गर्ने एउटा कुरा हो। यहाँनेर जनताकै सर्वोच्च प्रतिनिधि, सर्वोच्च थलोको मान्छेचाहिँ कार्यकारी हुँदैन र सेरेमोनियल हुन्छ भन्ने नक्कलबाजी मात्रै हो।

धमलात्यसो भए विद्यादेवी भण्डारी भोलि एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ? 

ओली : सक्नुहुन्छ, पाइन्छ। सम्भावना छ/छैन भन्ने उहाँको कुरा हो। आन्दोलनको कुरा हो त्यो। फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो। म अधिकारको कुरा गर्दै छु।

अहिले भने अवस्था यस्तो छ : भण्डारीको ‘काउन्टर’ तयारीपछि हच्कियो एमाले, रोकियो केन्द्रीय कमिटी बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad