राजनीति


भण्डारीको ‘काउन्टर’ तयारीपछि हच्कियो एमाले, रोकियो केन्द्रीय कमिटी बैठक

भण्डारीको ‘काउन्टर’ तयारीपछि हच्कियो एमाले, रोकियो केन्द्रीय कमिटी बैठक

सागर न्यौपाने
भदौ १०, २०८२ मंगलबार १९:२०, काठमाडौँ

नेकपा एमालेले पूर्वघोषित केन्द्रीय कमिटी बैठक मंगलबार सूचना जारी गरेर अचानक स्थगित गरेको छ। विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले भदौ १३ गते बैठक तय गरेको थियो।

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ मा हुँदैछ। केन्द्रीय कमिटी बैठक अब अनिश्चित भएको नेताहरू बताउँछन्। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि त्यसले एमालेका एकथरी नेता रुष्ट बनेका छन्। सर्कुलर नै पठाएर भण्डारीका बारेमा कुरा उठाउन बन्देज लगाइए पनि प्रदेश कमिटीका बैठकमा नेताहरूले यो विषय जोडतोडका साथ उठाएका छन्।

बागमती प्रदेशमा बोल्ने अधिकांश नेताले भण्डारीको सदस्यता रोक्न नहुने बताएका छन्। यस्तै, कोसी र कर्णाली र सुदूरपश्चिमका केही नेताहरूले भण्डारीका पक्षमा धारणा राखेका छन्।

अब बस्ने केन्द्रीय कमिटी बैठकमा यो विषय झन् चर्किने भएपछि बैठक नै स्थगित गराएको भण्डारी पक्षका नेताहरू बताउँछन्।  विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णयविरुद्ध नेताहरूले कुरा उठाउने भएपछि बैठक नै रोकेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए।

‘किनभने महासचिव शंकर पोखरेलजी नै उपस्थित हुनुभएको जिल्ला र प्रदेशका बैठकहरूमा साथीहरूले र्‍याखर्‍याख्ती पारेका छन्,’ पाण्डेले नेपालखबरसँग भने, ‘त्यही भएर केन्द्रीय कमिटी बैठकमा के–के कुरा आउँछ, नेताहरूले बोल्लान् भन्ने भएपछि बैठक नै रोक्नुभयो।’

तर, प्रचार एवं प्रकाशन विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले तल्ला तहबाट सुझाव आउनेक्रम जारी रहेको र त्यसलाई एकीकृत गर्न समय लाग्ने भएकाले बैठक स्थगित गरिएको दाबी गरे।

एमालेले साउन ६ गते केन्द्रीय कमिटीको बैठकबाट ७० वर्षे उमेर हद खारेज गरेको छ। यस्तै, पदाधिकारी संख्या घटाएर १३ सदस्यीय बनाइएको छ भने केन्द्रीय कमिटी पनि २५० मा झारिएको छ। 

यी लगायत भण्डारीलाई एमाले राजनीतिमा फर्कन नदिएको निर्णयमाथि प्रदेश र जिल्ला कमिटीसँग मंगलबारभित्र सुझाव माग गरिएको थियो। 

‘सुझावहरू आउँदैछन्। त्यसलाई एकीकृत गर्नुपर्‍यो अन्तिम रूप दिनुपर्‍यो। त्यसको लागि समय लाग्ने भएकोले स्थगित गरिएको हो,’ गौतमले नेपालखबरसँग भने।  

अब केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना न्यून छ।

किनकि, शनिबार (१५ भदौ) प्रधानमन्त्री केपी शर्मा ओली सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर बैठकमा भाग लिन चीन जाँदैछन्। उनी भदौ १८ गते मात्र फर्किनेछन्। 

‘१९ गते केन्द्रीय, स्थायी वा सचिवालयमध्ये कुनै एउटा कमिटीको बैठक बस्छ,’ एमालेका एक नेताले भने। 

उपाध्यक्ष पाण्डे भने सचिवालय र स्थायी कमिटी बैठक समेत नराख्न सक्ने बताउँछन्। 

‘उहाँहरूले बैठक नराख्न पनि त सक्नुहुन्छ, एमाले पहिलाजस्तो चलेको भए पो!’ पाण्डेले थपे। 

ओलीनिकट अर्का नेता विधान महाधिवेशन अगाडि बैठक राख्नुपर्ने कुनै कारण नरहेको बताउँछन्। 

‘प्रधानमन्त्री फर्केर आइसकेपछि १९ गते एक दिन समय छ,’ उनले भने, ‘त्यसमाथि २० गते लिएर जाने हो, त्यो दिन उद्घाटन समारोह हो। २१ गते लग्दा पनि हुन्छ। उद्घाटन भएर पनि केन्द्रीय कमिटीको बैठक बस्न सक्छ, दुई घण्टा त्यही हलमा।’

प्रचार विभाग प्रमुख गौतमले अब बस्ने बैठकको मिति तय भइनसकेको बताए। 

‘१९ गते कुनै कमिटीको भए पनि बैठक बस्ने प्रबल सम्भावना छ,’ उनले भने। 

एमालेको ३४२ सदस्यीय केन्द्रीय कमिटी छ। जसमध्ये ३०२ जना मात्र विधान महाधिवेशनका प्रतिनिधि हुन पाउँछन्। विधान महाधिवेशनमा २ हजार १२८ प्रतिनिधि छन्। 

जुनसुकै कमिटीको बैठक भए पनि भण्डारी पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत लैजाने तयारी गरेका छन्। 

सोही कुरा चाल पाएरै बैठक स्थगित गरिएको भण्डारी पक्षका नेताहरूको भनाइ छ। 

‘ईश्वर कमरेडले मैले आफ्नो मत राख्छु भन्नुभएको छ, केन्द्रीय, स्थायी वा सचिवालय कमिटीको बैठक नबसे विधान अधिवेशनमा राख्नुहोला, राख्ने कुरालाई त कसले छेक्छ होला र!’ उपाध्यक्ष पाण्डेले भने। 

च्यासलमा रहेको एमाले मुख्यालयमा गएर गरिएको सदस्यता नवीकरण रोकेपछि भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेकी छन्। त्यहीँबाट उनले राजनीतिक गतिविधि गरिरहेकी छन्।

मंगलबार मात्र आफूलाई भेट्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनीष झासँग पनि भण्डारीले एमालेले सदस्यता रोकेकोमा गुनासो गरिन्। 

‘म एमालेमै सक्रिय हुन चाहन्छु र अगाडि पनि बढिसकेँ, कुन बाटो हिँड्ने भन्ने मात्र हो, पछि फर्कने त होइन,’ झाका अनुसार भण्डारीले भनिन्, ‘एमाले मेरो पनि पार्टी हो। मैले ४५ वर्ष योगदान गरेको पार्टी हो। मेरो इच्छा यही पार्टीमा योगदान गर्ने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad