पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना लागि पार्टी केन्द्रीय कार्यालय च्यासलको ढोका बन्द भएपछि थापागाउँमा बेग्लै कार्यालय खोलेकी छन्। साउन ६ गते नेकपा एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी छुट्टै कार्यालय खोलेर राजनीतिक गतिविधि गर्नुपर्ने निचोडमा पुगेकी थिइन्।
मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय नाम दिएर थापागाउँमा खोलिएको सम्पर्क कार्यालयको बिहीबार भण्डारीले उद्घाटन गरिन्।
उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो साथ दिए। यस्तै, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहित १० जना केन्द्रीय सदस्यले थापागाउँमै पुगेर समर्थन जनाए। अब भण्डारीले सकभर दैनिक कार्यालय पुगेर नेता कार्यकर्ता भेट्ने उनीनिकटस्थहरू बताउँछन्।

च्यासललाई पोखरेलको सिधा प्रहार
च्यासलस्थित तुल्सीलाल मेयर स्मृति भवनमा एमालेको केन्द्रीय कार्यालय छ।
जहाँबाट भण्डारीको सदस्यता नवीकरण भएर पछि रोक्ने निर्णय भएको थियो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले बिहीबार जनताको बहुदलीय जनवाद मास्ने योजना बनिरहेको बताए। जबकि, मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई एमालेले आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएको छ।
पोखरेलले थापागाउँ पुगेर किन यसो भने? त्यसका लागि उनले केही तथ्य दिने प्रयास गरे।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते ७४ औँ मदन जयन्तीको कार्यक्रममा बोल्दै चौथो महाधिवेशनमै जबजको परिकल्पना भएको बताएका थिए। पाँचौँमा जबज नामकरण मात्र भएको र त्यसमा मदन भण्डारीको नाम जोडिए पनि अन्य नेताहरूको समेत भूमिका रहेको ओलीको भनाइ थियो।

त्यसको ५२ दिनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको दाबी खण्डन मात्र गरेनन्, ओलीको उदयमा मदन भण्डारी फाउन्डेसनको हात रहेको संकेत पनि गरे।
‘निकै सोच विचार, अध्ययन गरेर जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद शान्त तलाउमा डुंगा चलाएजस्तो सलल चलेर आएको होइन, प्रतिकूलताहरूसँग लडेर आएको हो,’ उनले भने, ‘यो विचार तत्कालको लागि मौसमी चटके भएर ल्याइएको होइन त्यसमा गहिरो पृष्ठभूमि छ, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा बनेको हो। यसमा दर्शन र विचार मिलेको छ।’

उनले जबज लोकतान्त्रिक अभ्यास र अरू पार्टीलाई पनि मार्गदर्शन गर्ने विचार भएको बताए।
‘जबज नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने सिद्धान्त पनि हो,’ उनले थपे, ‘मैले यो प्रसङ्ग किन भनेको भने यो विचारलाई क्षतिग्रस्त गराउन खोजिएको हुनसक्छ, विचारको टोपी लाउनेहरूले विचारलाई क्षतिग्रस्त पार्न सक्छन्, अब विचारको रक्षा गर्न आवश्यकता छ।’
यही कारण सम्पर्क कार्यालय खोलिएको र त्यसबाट देशभर जबजको प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ।
‘कुनै पनि बेला सामना गर्नुपर्ने चुनौतीको हेक्का राख्नुपर्छ, नेकपा एमालेको जबजलाई कसैले बिर्सनु हुँदैन, अब यही सम्पर्क कार्यालयबाट विचारको रक्षा गर्ने कार्यक्रम अघि बढाइनुपर्छ,’ उनले भने।
ओलीले अब जबजभन्दा बेग्लै विचार अघि सार्ने तयारी थाहा पाएर वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा भनेको एमाले नेताहरू बताउँछन्।
एमाले अध्यक्ष ओली समेत मदन भण्डारी फाउन्डेसनमा जोडिएको पोखरेलको भनाइ थियो।

‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो, त्यसबेलादेखि नै मदन भण्डारी फाउन्डेसन जोडिँदै आयो। उहाँको सामीप्यता पाएर फाउन्डेसनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो,’ पोखरेलले स्मरण गरे।
भण्डारीका तीन कुरा
प्रायः लिखित मन्तव्य दिने गरेकी भण्डारीले आफूलाई एमालेको उपाध्यक्षकै रुपमा प्रस्तुत गरिन्। त्यसक्रममा उनले तीन कुरा स्पष्ट पारिन्।
आफू एमालेको राजनीतिमा क्रियाशील भइरहने, जबज अनुसार एमालेले काम गर्न नसकेको र दुई ठूला दलले संविधान संशोधन गर्ने भनेर गरेको सहमतिप्रति असन्तुष्टि पनि उनले जनाइन्।
‘म नेकपा एमालेको सदस्य हो, मैले सिद्धान्त धारण गरेको छु, त्यही अनुसार निरन्तर काम गरिरहन्छु,’ भण्डारीले भनिन्, ‘साथीहरू नेता भन्छन् तर मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ यो च्यासलले।’
भण्डारीले एमालेमा पुरानोमध्येको नेता आफू पनि रहेको बताइन्।
‘माले कालदेखि २०७६ सालमै सदस्यता लिएको हुँ, ४५ वर्ष भइसकेछ,’ भण्डारीले थपिन्, ‘अहिले एमाले एउटा ब्रान्ड जस्तो भएको छ, खासमा नेकपा हो, नेपाल कम्युनिस्ट पार्टी।’

आफूले एमालेको कार्यकर्ता भएर काम गर्ने भए पनि पार्टीभित्रको विकृति, विसंगतिको विरोधमा लडिरहने उनको भनाइ थियो।
अहिले एमाले जबजको मर्म अनुसार चल्न नसकेको गुनासो उनले गरिन्।
‘२०४६/४७ को आन्दोलनपछि बनेको अन्तरिम सरकारसहित ५० सालको चुनावदेखि एमालेले निरन्तर सरकारमा भाग लिइराखेको छ,’ उनी भन्छिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो। त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ? विभिन्न समयमा हामीले चर्चा गरिरहेका छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ, समीक्षा गर्ने बेला भएको छ।’
नेपाली कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि त्यसले जनतामा तत्विक र सकारात्मक प्रभाव पार्न नसकेकोमा उनको असन्तुष्टि देखिन्थ्यो।

‘खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको छ, आयातमा आधारित व्यापार घाटा भएको छ, वैदेशिक ऋण बढेको छ, राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन,’ उनले भनिन्, ‘एउटा राजनीतिक प्रणालीलाई जसरी अघि बढाउनुपर्ने हो, त्यसरी अघि बढाउन सकेको छैन। म एउटा दलको मात्र कुरा गर्दिनँ, मैले बोल्दा एमालेको आलोचना गरेजस्तो हुनसक्छ। तर एमाले पनि एउटा अग्रज, प्रगतिशील र राष्ट्रवादी पार्टी भएकाले विचार पुर्याउनुपर्छ।’
संसदले राम्रोसँग काम गर्न नसकेको पनि उनले बताइन्।
‘अहिले संसद् नै निरीह थलो जस्तो बनेको छ, संसदमा कानुन बन्न सकिरहेको छैन। ठूला दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्,’ उनको प्रश्न छ, ‘तर, संविधानमा के अभाव रह्यो, के आवश्यकता छ?’

असार १४ गते ७४ औँ मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गरेको खुलासा गरेकी भण्डारीले त्यसपछि एमालेको नेतृत्वमै आउन चाहेको बताएपछि उनको सदस्यता नवीकरण रोकिएको थियो।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा अघि सारेका छन्। त्यसलाई उनले आफ्नो विचार भन्दै एमालेको मुख्य विचारधारा बनाउने सम्भावना देखेपछि भण्डारी सक्रिय हुनुपरेको उनी निकट नेताहरू बताउँछन्।
Shares

प्रतिक्रिया