विवेकशील साझा पार्टीले समान विचार भएका दल, समूह, अभियान तथा व्यक्तिसँग सहकार्य, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न राजनीतिक संवाद समिति गठन गरेको छ।
पार्टीका कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिअनुसार पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरिएको हो।
पाँच सदस्यीय संवाद समितिमा अर्का उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य छन्।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेको ठहर गर्दै समान विचार भएका दल, समूह र अभियानकर्मीबीच बृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्म अभियान अघि बढाउने निर्णय गरेको थियो।
'मिसन ८४' सफल बनाउन राजनीतिक संवाद समिति गठन गरिएको यसका संयोजकसमेत रहेका उपाध्यक्ष परियारले बताए।
यसअन्तर्गत समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउन पहलकदमी गर्दै 'अल्टरनेटिभ्स अलाइन्स'मा काम गर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया